‘संसद् नभएकाे बेला प्रधानमन्त्रीलाई अध्यादेशबाट देश चलाउनुपर्ने बाध्यता कहाँबाट आयाे ?’

 फागुन २३, २०७७ आइतबार १८:४९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आइतबार हिउँदे अधिवेशन सुरु भएको दिन पहिलो बैठक नै प्रतिपक्षी दलका सांसदहरूको विरोधका कारण स्थगित भएको हो । 

संविधानको मर्म विपरीत ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दै प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका थिए । संसद्को सातौँ अधिवेशन सुरु भएकै दिन सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस भएपछि कांग्रेस सांसदहरू आफ्नो आसनबाट उठेर बेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

सभामुखले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ पेस गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरू उभिएर विरोध गरेका थिए । त्यसपछि समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रमुख प्रतिपक्षी दलले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै फिर्ता लैजान आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानले संवैधानिक परिषद् भनेको कुनै प्रधानमन्त्रीले, कुनै सरकारले नियुक्ति गर्ने ठाउँ होइन । राज्यले नियुक्ति गर्ने ठाउँ हो । राज्य भनेको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका हो । सभामुख महोदय, तर आज सरकारले संसदलाई विघटन गरेको बहानामा अध्यादेश ल्याउने बहानामा संसद्को भावना विपरीत जुन अध्यादेशलाई ल्याएर राज्यका संवैधानिक अङ्गहरूको प्रमुख र सदस्यहरूको नियुक्ति गर्ने काम गर्‍यो यसले संविधानको धज्जी उडेको हुनाले यो अध्यादेशलाई स्वीकार गर्दैन । सरकारलाई आग्रह गर्छ यो अध्यादेश संविधानको भावना विपरीत भएकाले यो अध्यादेश संसदभित्र प्रवेश नगराएर तुरुन्तै फिर्ता लैजानका लागि प्रमुख प्रतिपक्षी दल आग्रह गर्दछ ।’ 

नेतृ भुसालले  प्रतिनिधि सभा पुनर्स्थापित भएपछि पनि पहिलो बैठकमा नै सरकारले संसदीय अभ्यासलाई अगाडि बढाउन नदिएर व्यवधान खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद् नभएकाे बेला प्रधानमन्त्रीलाई अध्यादेशबाट देश चलाउनुपर्ने बाध्यता कहाँबाट आयो ?’ 

उहाँले महिला नेतृत्व रहेको उपसभामुख पदको चुनाव नभएकोप्रति पनि आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, ‘महिला दिवसको पूर्वसन्धामा भन्न पनि दुःख लागेको छ, आज तीन वर्ष भइसक्यो, फरक दलले, महिला नेतृले उपसभामुख पदको चुनाव गरौँ भनेर थाल्दा पनि महिला नेतृत्वमाथि चुनौती खडा भएको छ ।’ 

सभामुखले अध्यादेश पेस गर्ने कार्यक्रम अगाडि बढाएपछि फेरि कांग्रेसका सांसद उभिएपछि सभामुखले प्रमुख सचेतक बालकृष्ण खाँडलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक खाँडले संविधान विपरीत आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘असंवैधानिक अध्यादेश स्वीकार गर्नै सकिन्नँ । पहिलोपल्ट सरकारले फर्कायो अनि फेरि ल्यायो । यो अध्यादेश यो सदनमा प्रवेश गर्न सक्दैन । यो असंवैधानिक अध्यादेश अविलम्ब फिर्ता गरियोस् ।’

विरोधका बीच मन्त्रीले अध्यादेश पेस गरेपछि नेपाली कांग्रेसका सांसद नाराबाजी गर्दै बेल घेर्न आइपुगेका थिए । सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो ।

यसअघि नेकपाको प्रचण्ड–माधव समूहले बैठक बहिष्कार गरेको थियो ।  

तस्बिर : रासस

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया