मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, मेयर–११ काे विजयी सुरुवात

 फागुन २३, २०७७ आइतबार १९:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मेयर कप एकदिवसीय क्रिकेटमा एपीएफले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आइतवार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई एक विकेटले हराएको हो । 

पुलिसले दिएको दुई सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा नाै विकेट गुमाएर पूरा गर्‍याे । एपीएफको जितमा सन्दीप जोराले ६१ र सुवास खकुरेलले ५० रनको अर्धशतकीय पारी खेले । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले एक सय ४० रनको शतकीय पारी खेले । दिपेन्द्रको यो पहिलो शतक पनि हो । एपीएफका शरद भेषवाकरले तीन, अविनास बोहराले दुई तथा अमर रौटेलाले एक विकेट लिए ।

यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै काठमाण्डौ मेयर–११ ले विजयी सुरुवात गरेको छ । जितका लागि दुई सय ४५ रनको लक्ष्य पाएको वाग्मती ३४ ओभर तीन बलमा एक सय ५० रनमा समेटियो । मेयर–११ का कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै विपिन खत्री र अनिल खरेलले दुई/दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मेयर–११ ले ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ४४ रन बनाएको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया