जो ज्यानको बाजी थापेर गगनचुम्बी पहाडमा खर काट्छन्

 फागुन २७, २०७७ बिहिबार ११:२६:३७ | सन्जिता देवकोटा

बैतडी – पुर्चौडी हाटकी बिन्दा विष्ट भिरको टुप्पोमा खर अर्थात उहाँकै शब्दमा गाज्यो काट्दै हुनुहुन्थ्यो । बिहे गरेको दुई/चार वर्षसम्म त खरको ठूलो भारी ल्याएरै सासुको चित्त बुझाउनु पथ्र्यो । त्यो दिन पनि बोक्न सक्ने ठूलो भारी पुर्‍याउनु थियो । खर काट्दै उकालो लागिरहेकी बिन्दाको खुट्टा एक्कासी अल्झियो । हातले  समातेको खरको बुट्टो पनि प्वाक्कै उक्कियो । 

चिच्याउनुभयो, ‘मरे नि आमा... ।’

त्यसपछि के भयो याद छैन । आँखा खुल्दा शरीरभरी घाउँ, टाउकोमा चोट र कम्मर उठाउन नमिल्ने थियो । 

अरुले भनेपछि थाहा भयो, होश पनि तीन दिनपछि पो आएको रहेछ ।

‘त्यति अग्लो भिरबाट झरेकोले म त बाँच्दिन होला भन्ने रहेछ सबैलाई,’ बिन्दाले त्यो कहालीलाग्दो दिन सम्झंदै बिन्दा भन्नुहुन्छ, ‘मेरो मानो सकिएको रहेनछ ।’

अहिले पो ठाउँठाउँमा अस्पताल छ । सिकिस्त भएकालाई हेलिकप्टरबाट पनि उद्धार गर्ने चलन छ । तर त्यो बेला भर उही जडीबुटीको थियो । घाउमा जडीबुट्टीकै पट्टी लगाउनुभयो । कति दिन त दिसापिसाब पनि ओछ्यानमै गर्नुपर्‍यो । 

दुखाई र हेपाइ सहँदै बिन्दाले तीन महिना एउटै ओछ्यानमा बिताउनु पर्‍यो । तीन महिनापछि भने विस्तारै उहाँ उठ्न सक्ने हुनुभयो ।

‘दुखेको ठाउँमा तातो आगोले सेक्दै जडीबुटी लगाउँदै घरमै बसें, यसो उठ्न चाहिँ तीन महिनापछि सक्ने भएँ,’ तीतो अनुभव सम्झदै बिन्दा भन्नुहुन्छ, ‘ठमठमी हिँड्न सक्ने हुन त महिनौं लाग्यो ।’

घरकी बुहारी । घाम पानी नभनी काम गर्दा त सासुको बचन र खटन सहनुपर्ने त्यो बेला । झन महिनौंसम्म ओछ्यानमा थला पर्दा, दिसापिसाब पनि ओछ्यानमै गर्दा बिन्दाले गाली र छीःछी र दूरदूर सहनुपर्‍यो ।

बिन्दा बुहारी भएर भित्रंदा खरको भारीसँग बुहारीको क्षमता तुलना हुन्थ्यो । सानो भारी खर ल्याउँदा गरेर नखाने रैछ भन्दै नाक खुम्च्याइन्थ्यो । बुहारी बिरामी हुन्, भारी बोक्न सकून् या नसकून्, त्यो कुरासँग खासै वास्ता हुँदैन थियो । जसरी हुन्छ ठूलो भारी बोक्नु पर्ने, अरु जान नसक्ने भिरमा गएर खर काट्नु पर्ने, अरुभन्दा छिटो हिँड्नु पर्ने बाध्यता थियो । किनकी त्यो बेला यी सबै काम नगर्ने बुहारीको उपमा ‘काम नलाग्ने’ हुन्थ्यो ।

बिन्दा पनि त्यसै गर्नुहुन्थ्यो । सासु र श्रीमानको मायाका लागि हर जोखिम उठाउनुहुन्थ्यो । त्यही चक्करमा झण्डै ज्यानै गयो । देख्दा पनि कहालीलाग्दो, अग्लो र सुख्खा पहाडबाट सिधै तल झर्दा पनि बाँच्नुभयो । 
मिति त याद छैन उहाँलाई । तर अहिले ४० वर्ष लाग्नुभएकी बिन्दाको स्मृतिमा त्यो कालो दिन अहिले पनि ताजै छ । 

अहिले पनि खर काट्न कम्मरमा नाम्लो र हातमा हँसिया बोकेर घरबाट निस्कंदा मन चिसो हुन्छ । मरिने पो हो कि भनेर त्यही क्षण सम्झनुहुन्छ । सम्झेर नरमाइलो लाग्छ । तर पनि खर नकाटी हँदैन । 
हरेक वर्षको तीन महिना बैतडीको विभिन्न ठाउँका महिलाको दिन खरभिरमै बित्छ । 

‘हरेक दिन घरबाट भिरतिर लाग्दा मरिने हो कि बाँचिने हो जस्तो लाग्छ, तर हाम्रो गाउँठाउँमा बस्तु नपाली हुँदैन, बस्तु पालेपछि खर नकाटी हुँदैन,’ बिन्दा खर काट्नु पर्ने बाध्यता सुनाउनुहुन्छ, ‘तीन महिना काटेको खरले पुरै हिउँद पुर्‍याउनु पर्छ ।’

‘रुखमा अड्किएर बाँचें’

उमेरले ३० वर्ष लाग्नुभएकी बैतडीकै लक्ष्मी बिष्टले खर काट्न थालेको २० वर्ष भयो । १० वर्षको उमेरदेखि नै आमा र दिदीलाई पछ्याउँदै भिरमा खर काट्न सिक्नुभएकी लक्ष्मीको ज्यान पनि अलिकतिले मात्रै बच्यो । 
कुरा चार वर्षअघिको हो ।

सधैं झैं आफ्नो भिरमा गएर खर काट्नुभयो । काटेको खर फर्कने बेला एकभारी घर ल्याउनुपर्छ । नाम्लो र डोरीले बाँधेर दोहोरो भारी हाल्नुभयो । भारी बोकेर जुरुक्क उठ्न मात्र के खोज्नुभएको थियो, भारीले टाउँको तान्यो । भारी अघिअघि, लक्ष्मी पछिपछि गुल्टिनुभयो ।

‘म लडेको वारिपारि खर काट्ने अरुले देखेछन्, साथीभाइ पनि चिच्याए, मैले त केही होश नै पाइनँ, धन्न अलि तल रुख रहेछ, भारी त लडेर तल पुग्यो म चाहिँ रुखको बीचमा अड्किएछु र बाँचे,’ लक्ष्मीले सुनाउनुभयो ।

चोटपटक त गहिरो लाग्यो । तर त्यो रुखमा अड्किंदा लक्ष्मीको ज्यान बच्यो । साथीभाइ आए, रुखमा अड्किनुभएकी लक्ष्मीलाई उठाए । बगिरहेको रगत पुछिदिए । पछ्यौरीको झोलुङ्गो बनाए । त्यसदिन खरको साटो सबै मिलेर लक्ष्मीलाई बोकेर घर ल्याए । 

शरीरमा लागेको चोट निको हुन एक महिना लाग्यो । विस्तारै घाउहरु निको हुँदै गयो । तर लक्ष्मीको मनको डर अहिले पनि उस्तै छ । हरेक पटक खर काट्न भिरतिर लाग्दा हातखुट्टा अघि बढ्न मान्दैनन् ।
खर काट्दै गर्दा पनि घरीघरी मन झस्किन्छ ।

सोच्नुहुन्छ, ‘म लडें भने मेरो श्रीमानको के होला, बालबच्चाको कुन हालत होला ?’ सकेसम्म आफूलाई सम्हालेर काट्नुहुन्छ । खुट्टा नचिप्लियोस् भनेर उपायहरु लगाउनुहुन्छ । हरेक पटक पाइला सार्दा घरमा कुरिरहेका छोराछोरीलाई सम्झनुहुन्छ ।

खर काट्ने ठाउँ पनि असाध्यै अप्ठेरो छ । घरभन्दा लगभग तीन घण्टा टाढा छ भिर । सुख्खा र ठाडो  पहरो छ ।

भिरमा टेक्ने खुट्टा र घुँडा टेक्ने ठाउँ बनाउनुपर्छ । अनि दह्रोसँग टेकेर खर काट्नु पर्छ । तर पनि भर भने लाग्दैन । केही गरी खुट्टा फुस्कियो भने त ज्यान बच्दैन ।
‘लडियो भने त बाँचिदैन, तर पनि काट्नुपर्छ, लडिन्छ कि मरिन्छ कि भन्ने डरैडरमा बित्छ नि तीन महिना त,’ लक्ष्मी भन्नुहुन्छ ।

‘गाज्यो’ शब्द सुन्दा पनि डर लाग्छ 

गएको वर्ष असोजमा कोरोना महामारीले स्कुल बन्द थियो । घरमा के गरेर बस्नु ? १० कक्षामा पढ्ने भागरथी भट्ट पनि आमा र भाउजुसँगै गाज्यो अर्थात खर काट्न जानुभयो । त्यसदिन खाना ल्याउने जिम्मा भने बहिनीको थियो । दिउँसो खाना लिएर बहिनी पनि खर काट्ने पाखामा पुगिन् । दिदी र भाउजुसँगै खर काट्न थालिन् । 

काट्दा काट्दै मेलो छुट्टियो । भागरथी, बहिनी र भाउजु तीनतिर भए । खर काट्दा काट्दै एक्कासी बहिनी चिच्याइन् । लड्दै तल पुगिन् । न उनीहरु समात्न जान सके, न त बहिनी नै अड्किइन् ।

भिरको शिरबाट झण्डै तीनसय मिटर तल खसिन् । वरपर पाखामा खर काटिरहेकाहरु पनि जम्मा भए । सबैजना रुँदै कराउँदै तल झरे । तर भगथरीको दिमाग भने शून्य भयो । हात खुट्टा चलेनन् । थ्याच्च बसेको ज्यान उठेन । हातगोडा नै चलेन । 

‘मेरो दिमागमा एउटै कुरो आयो कि, मेरो बहिनी त अब मरिहाली,’ भागरथी भन्नुहुन्छ, ‘मेरा हातखुट्टा नै चलेन, म बसेको बसेकै भएछु ।’

खर काट्न गएका गाउँकै महिलाले घरमा खबर गरे । भागरथीका बुवा र दाइसहित अन्य गाउँका पुरुष मान्छेहरु स्टेचर लिएर पाखामा पुगे । त्यसदिन साँझ बहिनीलाई घरमै राखे । 

‘बहिनीको ज्यान त रगतले मुछिएजस्तै भएको थियो, कहाँ के भएको छ भन्ने नै पत्तो भएन, बहिनी बाँची, त्यसदिन बहिनीको सास नजानु नै हाम्रो लागि ठूलो कुरा भयो,’ भागरथी त्यो क्षण हुँदै भन्नुहुन्छ ।

त्यसपछि उपचारका लागि धनगढी लगियो । तीन महिनासम्म अस्पतालमै राखियो । बहिनीसँगै भागरथीले पनि अस्पतालको भुईँमा तीन महिना नै बिताउनुभयो । जीवन र मृत्युसँग लडिरहेकी बहिनीको साथमा बस्दा दुःख र पीडा भन्ने कुरा के रहेछ भन्ने थाहा भयो ।

‘हामी सबैले साह्रै दुःख पायौं, बहिनीको अनुहार हेर्दा आँखामा आँसु अडिंदैन थियो, तर म नै रोएँ भने अरुको हाल के होला भनेर लुकी लुकी रोएँ,’ भागरथी गहभरी आँसु पार्दै भन्नुहुन्छ, ‘मेरो मनमा एउटै कामना थियो कि बहिनी निको होस्, जीवनभर गाज्यो काट्दिनँ ।’

बहिनीको उपचार खर्च जुटाउँदैमा थाकेका बुवालाई पनि कयौं पटक सम्झाउनुभयो भागरथीले । निको हुन्छ भनेर आँट दिनुभयो । बेडमा लम्पसार परेकी बहिनीलाई पनि केही हुँदैन भन्ने ढाडस भागरथीले नै दिनुभयो । अरुलाई सम्झाउँदा सम्झाउँदै कयौं पटक त आफैं पनि कमजोर हुनुभयो । तर उहाँको मनमा यो दुःखलाई जितिन्छ भन्ने आत्मविश्वासले काम गर्‍यो ।

‘जिन्दगीमा त्यति तनाव र दुःखको दिन त कहिल्यै आएको थिएन र अब आउँदैन पनि होला, गाइभैँसीको भन्दा त हाम्रो ज्यान ठूलो हो नि, तर गाउँठाउँको चलनले कतिको त ज्यान पनि गएको छ,’ उहाँ भन्नुहुन्छ ।

बहिनी भिरबाट लडेको दिनदेखि भागरथीको मनमा डरले डेरा जमाएको छ । कोही ठुलो आवाजले कराउँदा पनि बहिनी लडेकै दिनको झल्को आउँछ भागरथीको मनमा । पढ्न मन लाग्दैन, खान मन लाग्दैन, आँखा वरपर त्यही भिर, बहिनी लडेको, बहिनीको शरीर रगतमा डुबेको त्यो दिन नाचिरहन्छ । 

अहिले त बहिनीको शरीरमा लागेको घाउको खत पनि विस्तारै कम हुँदै गएको छ । तर खर काट्दा लागेको भागरथीको मनको चोट अहिले पनि उस्तै छ । घरमा पनि अब त खर काट्न कहिले पनि नजाने सल्लाह भएको छ । गाज्यो शब्द सम्झंदा र सुन्दा मात्रै पनि भागरथीका हात, खुट्टा र शरीर लुगलुग काँप्छ ।

‘यस्तो लाग्छ जिन्दगीभर त्यो भिरमा जान नपरोस्, तर यहाँको चलन, यहाँको जीवन खर नकाटी चल्दैन, ज्यानभन्दा ठूलो खर ठान्छन् कतिले,’ भागरथीलाई यो चलन चित्त बुझ्दैन ।

भागरथीको गाउँमा मात्र होइन सुदूरका अधिकांश ठाउँमा असोजदेखि मंसिरको पहिलो हप्तासम्म महिलाहरु खर काट्छन् । सबैको आ–आफ्नो खर काट्ने ठाउँ हुन्छ ।

सामुदायिक वनलाई किनेरै भए पनि सबैले आफ्नो खरभिर बनाएका हुन्छन् । तर खर काट्ने ठाउँ भने सजिलो हुँदैन । घरभन्दा कम्तिमा पनि दुईदेखि तीनघण्टाको पैदल दूरीमा हुन्छ खर काट्ने भिर ।

अग्लो बिशाल नाङ्गो पहाड हुन्छ । तल हेर्दा त कहाँ हो कहाँ । हिमालको झैं पहाडको पनि उचाइ नाप्ने हो भने सायद यी पहाडले पनि रेकर्ड राख्दा हुन् । फाट्टफुट्ट रुख, त्यसमाथि सुकेको खर । महिलाहरु आफ्नो पाखोको खर काट्न तीन महिना लगाउँछन् ।

अशोजदेखि मंसिरसम्म खर काटिसक्नुपर्ने बाध्यताको पछाडि कारण पनि छ । त्यसपछि पाखो सुख्खा हुँदै जान्छन् । खर सुक्न थालेपछि झन जोखिम र अप्ठेरो हुन्छ ।

त्यसैले तीन महिनाभित्र खर काट्छन् र काटेको खर महिलाले नै बोकेर घरसम्म ल्याउँछन् । यो सबै काममा पुरुषहरु सामेल हुँदैनन् । ‘पुरुष मान्छेले खेतबारीको काम गर्छन्, उनीहरु खर काट्न र बोक्न कहिल्यै पनि जाँदैनन्, यता चलन नै छैन,’ उनीहरु भन्छन् ।

महिलाहरुले घर छेउमा खरको कुन्यू बनाउँछन् र हिउँदभरी यही खरले गाइबस्तु पाल्छन् । कतिले त वर्षा लाग्दासम्म पनि पुर्‍याउँछन् । 

तर यही खर काट्न गगनचुम्बी पहाडहरू चढ्दा सुदूरका धेरै महिलाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Lokendra bist

    March 11, 2021, 7:58 p.m.

    सलाम छ यो लेखन लाई । यो लेखेको सबै पढ्ने लाई त कथा जस्तै लाग्ला तर यो सत्य हो म पनि बैतडी बाट हु । मैले भोगेको कथा ब्यथा हो यो ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया