एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण छैन : विश्व स्वास्थ्य सङ्गठन

 फागुन २८, २०७७ शुक्रबार २०:१३:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध लगाइँदै आएको एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।  

कोरोना भाइरसविरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शङ्का गर्नु अनावश्यक भएको सङ्गठनले शुक्रवार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली देशले एस्ट्राजेनेका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य सङ्गठनले स्पष्ट परेकाे हो । डब्ल्यूएचओको खोप सुझाव समितिले भर्खरै पनि एस्ट्राजेनेका खोप उपयोगी नै रहेको, कुनै हानिकारक नरहेको र कुनै खतरा नदेखिएकाले निशङ्कोच लगाउन सुझाव दिएको थियो ।

डेनमार्क, नर्वे, आइसल्याण्ड, इटली, रोमानियालगायतका देशमा अहिले एस्ट्राजेनेका खोप लगाउने अभियान स्थगित गरिएको छ । ‘एस्ट्राजेनेका खोप एकदमै राम्रो खोप हो, अरू कतिपय खोपभन्दा यो गुणस्तरीय छ’, डब्ल्यूएचओका प्रवक्ता मार्गरेट हरिसले भन्नुभयो । 

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले खोपको प्रयोग र परिणामसम्बन्धी विवरणको आफूहरूले अध्ययन गरिरहेको जानकारी दिनुभयो । आफूहरूको अध्ययनमा खोपकै कारणले कसैको ज्यान नगएकाे पुष्टि नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले खोपका बारेमा आफूहरूले अध्ययनलाई निरन्तरता दिएकाे तर खोप लगाउने अभियानलाई भने रोक्न आवश्यक नरहेकोमा जोड दिनुभयो । अरू स्वास्थ्य निकायले पनि एस्ट्राजेनेकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।

स्वास्थ्यसम्बन्धी नियामक निकायले खोपकै कारण रगत जमेको भन्ने प्रमाण नभेटिएको जनाएका छन् तर सावधानीका लागि खोप अभियानमा ढिलाइ गरिएको युरोपेली देशको भनाइ छ । अस्ट्रेलिया, मेक्सिको र फिलिपिन्सले भने खोप अभियानलाई निरन्तरता दिने जनाएका छन् । क्यानडाले खोपका कारण स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिएको भन्नेबारेमा प्रमाण नभेटिएको जनाएको छ । 

अमेरिकामा अहिले खोप अभियान तीव्र रूपमा अघि बढेको छ । वैज्ञानिकहरूले कोभिडलाई परास्त गर्न खोप एकमात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा अहिले कोरोना भाइरसको सङ्क्रमणबाट २६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।  

थाइल्याण्डकाे निर्णयसँगै प्रधानमन्त्री प्रयुत चान–ओ–चा ले आफूले खोप लगाउने कार्य एकाएक रोक्नुभएको छ । कोभिड–१९ खोप समितिका सल्लाहकार पियासाकोल साकोसतायाडोर्नले थाई नागरिकलाई खोप लगाउने कुरा सुरक्षित हुनुपर्ने बताउँदै खोप अभियान सञ्चालनमा हतार गर्न नहुने प्रतिक्रिया दिनुभएको छ ।

खोप अभियान राम्रोसँग सञ्चालन गर्न नसकेको युरोपले खोप अभियानलाई अझ बढावा दिन सङ्घर्ष गर्नु परिरहेको छ । युरोपेली युनियनले एस्ट्राजेनेकामाथि निरन्तर पर्याप्त आपूर्ति व्यवस्था मिलाउन दबाब दिइरहेको छ । युरोपको दबाब एवम् खोपको प्रभावकारितामाथि आशङ्का फैलिएसँगै लण्डन स्टक एक्सचेन्जमा एस्ट्राजेनेकाको शेयरमूल्य २ दशमलव ५ प्रतिशतभन्दा बढीले घटेको छ । 
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले केही देशले कोभिड–१९ विरुद्धको खोप भण्डार गरेर समानुपातिक वितरणमा अवरोध गरिरहेको र केही देशले खोपको राजनीति गरिरहेको आरोप लगाउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया