चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
बर्दीया - बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो । बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा समसाँझै घरभित्र बस्न बाध्य भएका छन् ।
बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीयको भनाइ छ । 'दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ', गेरुवा-४ तीनघरुवाकी नम्रता खनालले भन्नुभयो,'गोठमै आएर बाख्रा खान थालेपछि मानिसमा त्रास बढ्नु स्वाभाविकै हो ।'
बिहीवार मात्र तीन घरुवामा एकजनाको गोठमा बाख्रा खायो र भैँसीको कान चिथोरेको खनालले बताउनुभयो ।'बाघ गहुँ खेतीमा लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ', खनालले भन्नुभयो,'साँझ ६/७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, साँझ आफन्तकहाँ गएर ढोका खोलाउन गाह्रो हुन्छ ।'
स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दै आएका थिए ।
स्थानीयको प्रयास असफल भएपछि उनीहरु निकुञ्ज र सरकारप्रति आक्रोशित भएका छन् । बाघको आतङ्क बढेपछि स्थानीय महिलाको समूहले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । ज्यानको सुरक्षा गर भन्दै स्थानीय महिला गाउँपालिकाको कार्यालयमा घेराउ गर्न गएको स्थानीय भरतबहादुर स्वाँरले बताउनुभयो ।'बाली हेर्न र लगाएको आलु लिन गाउँ गएको थिए, डरले दुई रात पनि गाउँ बस्न सकिएन', स्वाँरले भन्नुभयो,'६/७ बजे घरभित्र पसिहाल्नुपर्दो रहेछ । रातभर बत्ती बालेर त्रासमा रात काँटे ।'
कति घरपालुवा जनावर बाघले खायो यकिन नभए पनि एक महिनामा धेरै नोक्सान गरेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह कडातले बताउनुभयो । गाउँपालिकाले १८ देखि २० किलोमिटर तारबार गर्न लागेको अध्यक्ष कडायतले जानकारी दिनुभयो ।
'गाउँपालिकाले यसअघि गरेको दुई किलोमिटर तारबार प्रभावकारी भएकाले निकुञ्ज र गाउँपालिका मिलेर थप तारबार लगाउने योजना बनाएका छौँ', अध्यक्ष कडायत भन्नुहुन्छ,'वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष गाउँपालिकाले डेढ करोड रुपैयाँ बजेट खर्च गर्न लागेको छ ।'
निकुञ्जसँग जोडिएको सीमा करिब ३५ किलोमिटर भए पनि यसपटक १८ देखि २० किलोमिटरमा काम हुने भएको छ । यति क्षेत्रमा तारबार भएपछि धेरै राहत हुने स्थानीयको भनाइ छ । वन्यजन्तुले घरपालुवा जनावर मारे गाउँपालिकाले राहत रकम दिने गरेको छ भने निकुञ्जले पनि केही रकम दिँदै आएको छ । गाउँपालिकाले भैँसीका लागि १० हजार रुपैयाँ, गाई गोरु र बाख्राका लागि पाँच हजार रुपैयाँ राहत दिने गरेको छ ।
बाघको आक्रमणबाट बर्दियामा चालु आर्थिक वर्षको अहिलेसम्म आठ जनाको ज्यान गइसकेको तथ्याङ्क प्रहरीसँग छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले पछिल्लो पटक मधुवन नगरपालिका-३ मा रहेकाे कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका-३ की २८ वर्षीया रेनुका सुनारलाई बुधवार बाघले आक्रमण गरी ज्यान लिएपछि ज्यान जानेको सङ्ख्या आठ पुगेको उहाँले बताउनुभयोे । साथै, हात्तीको आक्रमणबाट एक दर्जनले ज्यान गुमाएको स्थानीयको भनाइ छ ।
त्यसक्षेत्रमा समूह बनाएर वन्यजन्तु नियन्त्रण कार्यक्रम हुने गरेका छन् । यस्ता कार्यक्रममा निकुञ्जले सहयोग गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।