माओवादी र जसपाबीच सत्ता साझेदारीका विषयमा छलफल

 फागुन २९, २०७७ शनिबार १३:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच सत्ता समीकरणका विषयमा छलफल भएको छ । 

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा हुन सक्ने सत्तासाझेदारीको विषयमा छलफल भएको नेताहरुले बताएका छन् । छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारको विकल्प खोज्न दुवै पार्टी सकारात्मक भएको बताउनुभयो ।

उहाँले बैठकमा प्रधानमन्त्री ओलीको सर्वसत्तावाद परास्त गर्ने निष्कर्ष निकालेको भन्दै जसपाले प्रधानमन्त्री ओलीसँग कुनै सहकार्य नगर्ने बताउनुभयो । कांग्रेस, माओवादी र जसपाको साझेदारीमा सरकार बन्न सक्ने भन्दै उहाँले प्रधानमन्त्री हुने कुरा पछि छलफल गर्ने बताउनुभयो ।

बिहान माओवादीको स्थायी कमिटी बैठकलगत्तै माओवादीसँग छलफल गर्न जसपाबाट यादव र डा. बाबुराम भट्टराई पेरिसडाँडा जानुभएको हो । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देव गुरुङ बैठकमा सहभागी हुनुहुन्थ्यो ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको भन्दै यसबारेमा थप छलफल गर्ने बताउनुभयो । उहाँले नयाँ सरकार गठनका विषयमा छलफल भए पनि ठोस निर्णयमा भने नपुगेको बताउनुभयो । नयाँ सरकार समीकरणका विषयमा दुई दलबीच थप छलफल गरेर नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा गरी तीनवटै दल बसेर पनि वार्ता गर्ने सहमति भएको नेता श्रेष्ठले बताउनुभयो ।  
 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया