रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
ललितपुर – ललितपुरमा 'इन्टेलिजेन्स ट्राफिक लाइट' सञ्चालनमा आएको छ । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकमा रहेकाे ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको 'स्विच अन' गरेर आज यो प्रविधिको शुभारम्भ गर्नुभएको हो ।
ललितपुर महानगरपालिकाको लागतमा गाडी व्यवस्थापनका लागि सडकमा इन्टेलिजेन्स ट्राफिक लाइट शुभारम्भ गरिएको हो । त्यस अवसरमा मन्त्री महर्जनले ललितपुरमा ट्राफिक व्यवस्थापनका लागि राम्रो प्रयासको शुरुआत भएकामा प्रशंसा गर्नुभयो । ‘महानगरका सबै प्रमुख सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि यो प्रणाली प्रभावकारी हुनेछ, देशभर दर्ता भई सञ्चालनमा रहेकामध्ये ६० प्रतिशत गाडी बाग्मती प्रदेशमा छन्, यसलाई व्यवस्थापन गर्नु ज्यादै चुनौतीपूर्ण छ । विज्ञान र प्रविधिमा आधारित गरेर 'स्मार्ट ट्राफिक' व्यवस्थापनका लागि भएको यो काम महत्त्वपूर्ण छ’, उहाँले भन्नुभयो ।
ललितपुर प्रतिनिधि क्षेत्र नम्बर २ का सांसद प्रेमबहादुर महर्जनले नयाँ प्रविधियुक्त प्रणालीले ट्राफिक व्यवस्थापन प्रणालीले यातायात सञ्चालनमा सहजता र यात्रुलाई समय व्यवस्थापनमा प्रभावकारी हुने बताउनुभयो ।
ललितपुर क्षेत्र नमरब २ ‘ख’ प्रदेशबाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नागरिकसँग जोडिएको महत्त्वपूर्ण समस्या समाधानका लागि ललितपुर महानगरले सराहनीय काम गरेको बताउनुभयो । ‘लोकतन्त्र र गणतन्त्रमा नागरिकलाई अनुभूति गर्नेगरी सेवा दिने काम महत्त्वपूर्ण हो, ट्राफिक व्यवस्थापन, वायु प्रदूषण र फोहोरमैला व्यवस्थापन उपत्यकाको प्रमुख समस्या हो, यसका लागि ललितपुर महानगरले गरेको प्रयास सराहनीय छ’, उहाँले भन्नुभयो ।
महानगरका मेयर चिरीबाबु महर्जनले महानगरबाट अध्ययन गरेर ट्राफिक व्यवस्थापनका लागि लाइट जडान गरिएको र यो नेपालमै पहिलो पटक भएको बताउनुभयो । ‘हाम्रो उद्देश्य काठमाण्डाैतर्फको ट्राफिक समस्या पार गरेर थापाथली पुल हुँदै ललितपुरतर्फ आएकालाई केही समय पनि रोक्न नपरोस् र ट्राफिक लाइटले सहजता प्रदान गरोस् भन्ने हो’, उहाँले भन्नुभयो, ‘यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि रहेको छ । सँगै राखिएको 'भेहिकल डिटेक्टर' ले गाडीको नम्बर तथा विवरण 'रिड' गर्छ । प्रणालीले नै कुन दिशातर्फ कति समय चाहिने हो आफैं निर्धारण गर्छ । अहिले यसको 'मनिटरिङ' प्रणाली ट्राफिक कार्यालयमा राखिएको छ ।’
महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले धेरै विधामा ललितपुर महानगरपालिकाले नयाँ कामको शुरुआत गरेको छ भन्नुभयो । ‘एक सय छ औं स्थापना दिवसको सन्दर्भमा हामीले यो प्रविधिको प्रयोग शुरू गरेका छौँ, हामीले गरिरहेका काममा बौद्धिक जगत्ले पनि सहयोग र समन्वय गरेर हौसला प्रदान गरिरहेको छ । उपत्यकाले झेलिरहेको ट्राफिक समस्या व्यवस्थापनका लागि ललितपुर महानगरले यो नयाँ र नौलो प्रयास गरेको छ’, उहाँको भनाइ थियो ।
उपमेयर बज्राचार्यले नेपालमै पहिलो पटक सञ्चालनमा आएको यो प्रविधिलाई प्रभावकारी बनाउन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाडी र गाडी चालक तथा पैदलयात्रीलाई ध्यान दिएर 'म्युनिसिपल मास्टर प्लान' अन्तर्गत यो परियोजना लागू गरिएको बताउनुभयो ।
ललितपुर महानगरपालिकाले दशैँअघि शुरू गरेर कुपन्डोलदेखि जावलाखेलसम्म पाँच वटा ठाउँमा यस्ता लाइट जडान गरेको छ । जडानको सबै प्रक्रिया सकिएपछि आजदेखि नियमित सञ्चालनमा ल्याइएको हो । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच वटा लाइट जडान गरिएका छन् ।
लाइटसँगै राखिएको 'भेहिकल डिटेक्टर मेशिन' ले सडकमा गाडीको सङ्ख्या तत्काल 'रिड' गरेर तत्कालै ट्राफिक लाइटको 'चिप' तथा 'सर्भर' लाई जानकारी गराउँछ । त्यही आधारमा व्यवस्थापन प्रणालीले जता धेरै गाडी छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाण्डाैतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३० देखि ५० सेकेन्ड मात्रै पर्खे पुग्ने अवस्था बनाइएको महानगरले जनाएको छ ।
यो लाइट 'फिक्स', 'पुलिस म्यानुअल', 'सिङ्क्रोनाइजेसन', 'एटीसीएस' लगायत आवश्यकताअनुसारको 'मोड' मा प्रयोग गर्न सकिने प्राविधिक सुयसभक्त माथेमाले जानकारी दिनुभयो । उहाँका अनुसार यसमा पाँच वर्षसम्म तथ्याङ्क भण्डारण हुन्छ भने गाडीको र दुर्घटनाको विवरणसमेत रहन्छ । लाइट जडान गरेको नमूना पावर ग्रेड जेभीले शुरूमा एक सय १७ ठाउँमा सम्भाव्यता अध्ययन गरे पनि अति आवश्यक पर्ने पाँच वटा ठाउँमा यो प्रविधि जडान गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।