नेपाली श्रमिक दक्ष भएर मात्रै वैदेशिक रोजगारीमा जाउन् भन्ने बोर्डको लक्ष्य हो

 चैत ३, २०७७ मंगलबार १६:११:५० | राजनप्रसाद श्रेष्ठ
unn.prixa.net

वैदेशिक रोजगारीमा जान इच्छुक र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गरेर सातै प्रदेशका सीटीईभीटीका आङ्गिक शिक्षालयहरुमार्फत् विभिन्न विषयहरूमा अहिले सीपको तालिम सञ्चालन भइरहेको छ ।

वैदेशिक रोजगारीमा जाने युवाहरू सीप सिकेर जाउन् भन्ने बोर्डको उद्देश्य हो । सीप सिकेर गएपछि उनीहरूको वैदेशिक रोजगारी तुलनात्मक हिसाबले आर्थिक रूपमा बढी लाभदायी र सुरक्षित हुने देखिएको छ । यति मात्र होइन वैदेशिक रोजगारीमै नगए पनि पछि कोही व्यक्तिले आफ्नो हातमा सीप भएपछि भोको बस्नु पर्दैन । 

वैदेशिक रोजगारीबाट फर्केर आउने होस् या जान चाहने दुवैलाई प्राथमिकतामा राखेर पन्ध्र ओटा शिक्षालयहरुमार्फत अहिले निःशुल्क एक महिने आधारभूत सीप तालिमहरू सञ्चालन भइरहेका छन् ।

यी सीप सिक्न पाइन्छ 

अहिले हामीसँग १८ ओटा विभिन्न विषयहरूको पाठ्यक्रम निर्धारण गरिएको छ । त्यो पाठ्यक्रम बोर्डले स्वीकृत गर्छ । १६० घण्टा अर्थात् ३० दिनको हुन्छ । कुन सीपको लागि कति शैक्षिक योग्यता भन्ने कुरा सबै पाठ्यक्रमले नै निर्धारण गर्छ ।

१६० घण्टा भने पनि कुनै कुनै १८० घण्टा पनि हुन्छ । तर न्यूनतम १६० घण्टा नै हुन्छ । जस्तो उदाहरणको लागि इलेक्ट्रिसियन, डकर्मी, प्लम्बर, सटरिङ् कार्पेन्टिङ, वेल्डर, टायर मार्बल, कटिङ, आल्मुनियम फेब्रिकेटर, कुक सहायक, ब्युटिसियन, गार्मेन्ट टेलरिङ, सेक्युरिटी गार्ड, वेटर, जुनियर फर्निचर मेकर, फ्रन्ट अफिस, हाउस पेन्टर, हाउस किपिङ, स्काफोल्डिङ, आदि विषयमा हाम्रो पाठ्यक्रम छ र यी विषयमा बोर्डले अहिले एक महिने तालिम दिइरहेको छ ।

तालिममा सहभागी हुन इच्छुकले कम्तीमा पनि आठ कक्षा पास गरेको हुनुपर्छ । महिला, विपन्न परिवार, दलित जनजाति, आर्थिक अवस्था कमजोर, वैदेशिक रोजगारीमा समस्यामा परेका व्यक्तिको परिवारका सदस्यहरूलाई बढी प्राथमिकतामा राखिएको छ । 

कोरोना महामारीपछि पनि यी तालिमहरू निरन्तर रूपमा सञ्चालित छन् । हामीले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर तालिम दिइने भन्ने सहमति भएको छ ।

सिकेको सीप प्रयोगमा ल्याऔँ

तालिम लिएर सर्टिफिकेट लिएर मात्रै उपलब्धि हुँदैन । आफूले सिकेको सीप कहीँ न कहीँ प्रयोगमा ल्याउनुपर्छ । सीप तालिमको प्रमाणपत्र लिएर मात्रै हुँदैन, त्यसैले हामीले सीप तालिम लिने सबै प्रशिक्षार्थीको अनिवार्य रूपमा सीप परीक्षण हुन्छ ।

सीप तालिम लिएपछि राष्ट्रिय सीप परीक्षण बोर्डले नै प्रमाणपत्र दिन्छ । यसो हुँदा त्यो तालिम बढी नतिजामुखी हुन्छ ।

कम्तीमा ९० प्रतिशतभन्दा कम हाजिरी भयो भने उनीहरुलाई प्रमाणपत्र पनि दिँदैनौँ । ३० दिनको हाजिरी हुनेहरूलाई प्रमाणपत्र दिने र सीप परीक्षण गर्ने गरेका छौं । सीप परीक्षण गर्दा लाग्ने शुल्क सुरुमा प्रशिक्षार्थी आफैले बेहोर्नुपर्छ । पास भएमा उनीहरुले बुझाएको सीप परीक्षणबापतको रुपैयाँ  फिर्ता हुन्छ तर फेल भएमा भने त्यो रकम फिर्ता हुँदैन ।

यसरी सीप तालिम लिएपछि राष्ट्रिय सीप परीक्षण बोर्डले नै प्रमाणपत्र दिन्छ । यसो हुँदा त्यो तालिम बढी नतिजामुखी हुन्छ । यसबाट लाभ लिनुहुन सबै वैदेशिक रोजगारीबाट फर्किएकाहरू हुन् या जान इच्छुकहरूलाई म आग्रह गर्छु ।

सामीसँग सहकार्य

सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत सञ्चालन हुने सीप तालिमका सबै उहाँहरुको टिम हामी सँगै छौं । उहाँहरुले पनि तालिम सञ्चालन गर्दा बोर्डले निर्देश गरेका मान्यताहरु मान्नुपर्छ । सामीको तालिम सङ्ख्यात्मक हिसाबले कम छ, तर उहाँहरुको आवासीय हुन्छ, खान बस्ने हुन्छ । तर काठमाण्डौ आउनुपर्ने हुन्छ ।

स्थानीय तहमै गएर सम्पर्क गर्न पनि सकिन्छ । तर मुख्य कुरा भनेको आफू सीप सिक्छु र सीप सिकेर आत्मनिर्भर हुन्छु स्वरोजगार बन्छु भन्ने कुरामा दृढ हुनुपर्यो ।

बोर्डको चाहिँ अलिक फरक छ । सचिवालयले प्रदान गर्ने निःशुल्क सीप तालिमहरू अहिले हामीले सातै प्रदेशका सीटीईभीटीका आङ्गिक शिक्षालयहरुले पनि स्थानीय तहसँग सम्झौता गरेर, स्थानीय तहले सिफारिस गरेका, पालिकाले माग गरे अनुसार बोर्डमार्फत प्रदान हुने सीपहरु अहिले पालिकास्तरमै पनि सञ्चालन हुन्छ ।  हामी उहाँहरुकै गाउँ ठाउँमा, पालिका तहमा पुग्छौँ ।

पालिकाले सीप तालिमको लागि पूर्वाधार छ है भन्नुपर्‍यो, पालिकाले यो तालिम लिन इच्छुक जनशक्ति यति छन् है भनेर जानकारी गराउनुपर्‍यो । उहाँहरुको मागका आधारमा सीटीईभीटीका आङ्गिक शिक्षालयहरुले त्यही ठाउँमा गएर तालिम दिनुहुन्छ र त्यसपछि सीप परीक्षण पनि त्यहीँ हुन्छ ।

सीप सिक्न इच्छुकहरुले सचिवालय बोर्डको कल सेन्टर ११४१ मा फोन गरेर जानकारी लिन सक्नुहुन्छ । यही विषयमा वेबसाइट, फेसबुक पेज छ । स्थानीय तहमै गएर सम्पर्क गर्न पनि सकिन्छ । तर मुख्य कुरा भनेको आफू सीप सिक्छु र सीप सिकेर आत्मनिर्भर हुन्छु स्वरोजगार बन्छु भन्ने कुरामा दृढ हुनुपर्यो ।

निःशुल्क सीप परीक्षण गर्नुहोस्

वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकाएर पठाउनुपर्नेछ भनेर वैदेशिक रोजगार ऐनमै भएको व्यवस्था हो । दोस्रो कुरा नेपाल सरकारको नीति तथा कार्यक्रममा आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई सीप सिकाउने, दक्ष बनाउने र आफ्नै आन्तरिक श्रम बजारमा खपत गर्ने र त्यसरी खपत भएर नि बाँकी रहेका र वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी हुन सक्ने गरी पठाउने भन्ने नीति छ ।

त्यो मात्रै होइन फर्केर आउनेहरूलाई पुनः एकीकरण कार्यक्रम अन्तर्गत निःशुल्क सीप परीक्षण गराउने, निःशुल्क सीप तालिम दिने कार्यक्रम पनि छ । हामीले खोजेको भनेको हाम्रो जनशक्ति सीपयुक्त र दक्ष बनून् भन्ने हो । चाहे ती स्वदेशमै बसेर काम गरुन् या विदेशमा जाउन् यो उनीहरूको इच्छाको कुरा हो, हाम्रो उद्देश्य भनेको सीपयुक्त बनाउने हो ।

निःशुल्क सीप परीक्षण गर्नुस् भन्दा आकर्षण कम छ । कारण, उहाँहरु सामान्य कामदारमा जानुभयो र त्यही काम गरेर फर्किनुभयो । सीप परीक्षण हुने कुरो भएन । तर पनि वार्षिक दुई सय पाँच सयको हाराहारीमा सीप परीक्षण गर्न आउनेहरू भने हुनुहुन्छ । 

अहिले पनि निःशुल्क सीप परीक्षण भइसकेको छ । एनएसटीभीसँग हाम्रो सम्झौता नै छ । यो वर्ष पनि छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरु जति जानुहुन्छ, अत्यन्तै थोरै तीन, साढे तीन प्रतिशतले मात्रै सीप सिकेर जाने प्रवृत्ति छ । 

हामीले यो प्रवृत्ति उल्टाउन खोजेका छौं । शतप्रतिशतमा तीन प्रतिशत मात्रै जेनरल वर्करमा जाउन् र अरु सबै सीपयुक्त भएर जाउन् भन्ने हो । त्यसो गरेमा वैदेशिक रोजगारी सुरक्षित पनि हुने भयो र तुलनात्मक रूपमा लाभदायी पनि हुने भयो ।

निःशुल्क सीप परीक्षण गर्नुस् भन्दा आकर्षण कम छ । कारण, उहाँहरु सामान्य कामदारमा जानुभयो र त्यही काम गरेर फर्किनुभयो । सीप परीक्षण हुने कुरो भएन । तर पनि वार्षिक दुई सय पाँच सयको हाराहारीमा सीप परीक्षण गर्न आउनेहरू भने हुनुहुन्छ । 

त्यसैले तपाईँ वैदेशिक रोजगारीबाट फर्कनुभएको छ या विदेश जाने सोचमा हुनुहुन्छ भने बोर्डले प्रदान गर्ने निःशुल्क सीप तालिम लिनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु । तपाईँले विदेशबाट केही सीप लिएर आउनुभएको छ भने पनि निःशुल्क परीक्षण गर्नुहोस् ।

(वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठसँग कार्यक्रम देश परदेशका लागि सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत १५, २०८०

राजनप्रसाद श्रेष्ठ

श्रेष्ठ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हुनुहुन्छ ।

1 Comments

  • Biru

    March 17, 2021, 6:17 a.m.

    यो तालिमको लागि कहाँ सम्पर्क गर्नुपर्ने होला , ठेगाना पनि उपलब्ध भएको भए राम्रो हुने थियो /

  •  0 Reply

तपाईको प्रतिक्रिया