फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

 चैत ४, २०७७ बुधबार ९:३४:३९ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी - जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् ।

यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्थल बन्ने समय हो तर यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भए पनि नफुल्दा न प्रकृति सुन्दर देखिएको छ, न त पर्यटकको चहलपहल नै सुरु भएको छ । जिल्लाका ज्यामरुककोट, भकिम्ली, रत्नेचौर, अर्मन, बरङ्जालगायतका क्षेत्रमा रहेका जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढ्ने गर्दथ्यो ।

फागुन र चैत महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको हो । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको ज्यामरुककोट र भकिम्लीको स्वर्गाश्रम क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो । यी क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोट भएकाले पनि फुल्न छाडेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

भएका बोटहरु सुक्दै जानु र नयाँ बोटबारे चासो नदिनुले पनि लालीगुराँसमा संरक्षणको अभाव खट्किएको ज्यामरुककोटका नारायण्ण शर्माले बताउनुभयो । यो समयमा लालीगुराँस फुलेर राताम्मे बन्ने भकिम्लीको स्वर्गाश्रम क्षेत्र पनि उराठ लाग्दो देखिएको स्वर्गाश्रम विकास समितिका सदस्य रामबहादुर पुनले बताउनुभयो  । यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस कम फुलेको उहाँको भनाइ छ । यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला रहेको उहाँको कथन छ ।

भौगोलिक उचाइगत विविधताले ठूलो घना जङ्गल रहेको यस क्षेत्रमा  ऐँसेलु, चुत्रो, डिम्मर, मजिठो, सतुवा, नागबेलीसहित ६२ प्रजातिका जडीबुटी रहेको वन डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी यस वर्ष यही मौसममा फल्ने वनफल पनि फलेका छैनन् । ऐँसेलु, काफल, चुत्रोलगायतका वनफलहरु नफलेको स्थानीयवासीले बताएका छन् ।

पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँसलगायतका अन्य क्षेत्रमा प्रभाव परेको हो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया