साउदीले गर्‍याे कफला प्रणालीमा सुधार, अझै पनि छन् यस्ता सर्तहरू

 चैत ४, २०७७ बुधबार ११:३२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी सरकारले आफ्नो कफला प्रणालीमा सुधार गरेको छ । कफला प्रणालीमा सुधार भएसँगै त्यहाँ कार्यरत नेपालीसहित आप्रवासी श्रमिकलाई केही सहज हुनेछ । आप्रवासी श्रमिकले पहिलेजस्तो रोजगारदाताको अनुमति बिना चलमल गर्न नपाउने अवस्थाको अन्त्य भएको छ ।

अब रोजगारदाताको पूर्व अनुमति बिना पनि काम परिवर्तन गर्न, बिदामा घर फर्कन र करार अवधि सकिएपछि स्वदेश फर्कन पाउनेजस्ता व्यवस्था यो सुधारले गरेको छ । तर यसका लागि पनि विभिन्न सर्तहरू छन् ।  यो परिवर्तनले घरेलु श्रमिकलाई भने सम्बोधन गरेको छैन ।

यी अवस्थामा पाइन्छ रोजगारदाता परिवर्तन गर्न

साउदी सरकारले गरेको सुधारको फाइदा लिनका लागि सबैभन्दा पहिला त श्रमिक र रोजगारदाताबीच भएको रोजगार करार पत्र रोजगारदाताले साउदी सरकारको सम्बन्धित अनलाइन स्टिममा पनि राखेको हुन पर्नेछ । 

यदि यसो भएमा रोजगारदाता परिवर्तन गर्न सकिन्छ । तर त्यसका लागि पनि विभिन्न सर्तहरू छन् । सबैभन्दा पहिला त श्रमिकले साउदी अरबमा प्रवेश गरेको मितिदेखि सम्बन्धित रोजगारदातासँग कम्तीमा एक वर्षको करार अवधि पूरा गरेको हुनुपर्दछ ।

रोजगारदातासँग गरेको करार पत्रको प्रति आधिकारिक निकायबाट प्रमाणीकरण गरी त्यसको प्रति श्रमिकले साथमा लिएको हुन पर्नेछ ।

श्रमिकलाई रोजगारी दिने नयाँ रोजगारदाताले साउदी सरकारको आधिकारिक पोर्टल QIWA बाट मात्र रोजगारीको प्रस्ताव गरेको हुनुपर्छ । व्यक्तिगत भेटघाट वा कसैको सहयोगमा कुनै अभिलेख नराखी दिएको रोजगारीले कानुनी मान्यता पाउने छैन । जुनसुकै हिसाबले नयाँ रोजगारीमा जाँदा QIWA पोर्टलबाट रोजगारी प्रस्ताव राखेको हुनुपर्नेछ । यसका लागि श्रमिकलेसमेत QIWA पोर्टलको प्रयोग गर्न पर्छ  । यस्तै श्रमिकले रोजगारदाता परिवर्तन गर्ने सम्बन्धी सूचना तोकिएको समयभित्रै आफ्नो अहिलेको रोजगारदातालाई दिनुपर्छ । यी सबै प्रक्रिया गर्दा श्रमिकको कुनै पनि शुल्क लाग्दैन । निःशुल्क हुन्छ ।

यी अवस्थामा सर्तहरू पूरा गर्न पर्दैन

साउदीमा प्रवेश गरेको दिनदेखि तीन महिनासम्म पनि रोजगारदाताले करार नगरेमा श्रमिकले आफ्नो रोजगारदाता(कफिल) परिवर्तन गर्न सक्नेछन् । 

यस्तै, श्रमिकले लगातार ३ महिनासम्म आफ्नो पारिश्रमिक नपाएमा, रोजगारदाताको मृत्यु भएमा वा कैद वा लामो यात्रा वा यस्तै अन्य कारणले रोजगारदाता सम्पर्कमा नरहेमा, श्रमिकको इकामाको अवधि सकिएपछि पनि नवीकरण नगरिदिएमा रोजगारदाता परिवर्तन गर्न पाइन्छ  । 

साथै, श्रमिक र रोजगारदाताको बीचमा विवाद भइ कुनै कानुनी निकायमा उजुरी परेको र त्यो निकायले गर्ने दुईवटा सुनुवाइमा रोजगारदाता वा उसको प्रतिनिधि उपस्थित नभएमा वा दुई उपयुक्त मिलापत्र सम्बन्धी सुनुवाइमा उपस्थित नभएमा र अहिले कार्यरत रोजगारदाताले स्वीकृति दिएमा करार अवधि समाप्त नहुँदै पनि रोजगारदाता परिवर्तन गर्न सकिन्छ ।

बहिर्गमन भिसा लिन

साउदीले गरेको सुधारपछि व्यक्ति स्वयंमले पनि आफ्नै पहलमा बहिर्गमन भिसा लिन सकिन्छ । यसअघि रोजगारदाताले बहिर्गमन भिसा नदिंदा स्वदेश फर्कन समस्या हुन्थ्यो । अब भने यस्तो भिसा लिन अब श्रमिकले साउदी सरकारको आधिकारिक पोर्टल absher बाट सेवा लिनुपर्नेछ । यो एप डाउनलोड गर्न सकिन्छ । तर श्रमिकसँग म्याद भएको इकामा साथमा हुनुपर्नेछ ।

रोजगारदातासँग गरेको रोजगार कारारपत्रको प्रति आधिकारिक निकायबाट प्रमाणीकरण गरी त्यो साथमा हुनुपर्छ भने श्रमिकले रोजगारदाता वा अन्य निकायलाई तिर्नुपर्ने कुनै शुल्क वा जरिवाना बाँकी रहेको हुनु हुँदैन । बर्हिगमन भिसाको लागि लिने शुल्क श्रमिक स्वयंकले व्यर्होर्नुपर्नेछ ।

यस्तै, absher बाट बहिर्गमन भिसाको प्रक्रियामा जाँदा श्रमिकले आफू जाने सम्बन्धी सम्पूर्ण प्रक्रिया बुझेर निर्णय गरेको भनेर घोषणा गर्नुपर्नेछ ।

यसरी पाइने बहिर्गमन भिसा रोजगारदाताले रद्द गर्ने अधिकार हुनेछैन । 

स्थायी रूपमा साउदी अरेबिया छाड्ने निर्णय गरेकाहरूले यो बहिर्गमन भिसा सेवा लिन सक्नेछन् भने आफूमा आश्रित परिवारका लागिसमेत बहिर्गमन भिसा आवेदन गर्न सकिन्छ । एक पटक प्राप्त गरेको एक्जिट भिसालाई श्रमिकले चाहेमा त्यो भिसाको अवधि बाँकी छँदै रद्दसमेत गर्न सक्नेछन् । रोजगारदातासँगको करारको अवधि बाँकी हुँदै साउदी अरब छाड्ने गरी एक्जिट भिसा लिएका श्रमिकले करार उल्लङ्घन गरेको कसुरबापत जरिवाना भने तिर्नुपर्नेछ ।

तर घरेलु कामदार, घरायसी सुरक्षा गार्ड, बंगैचे, पशु चराउने, निजी चालक तथा फार्ममा काम गर्नेहरूको हकमा भने यी प्रावधान कुनै पनि लागू हुनेछैन ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया