रुकुममा उत्पादित सिस्नु 'पाउडर' को माग बढ्दो

 चैत ५, २०७७ बिहिबार २०:४:३१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नुको धुलो (पाउडर) को बजार माग बढेको छ । रुकुम पश्चिममा गएको वर्षदेखि सञ्चालित हिमालय सिस्नु पाउडर उद्योगले सिस्नुको धुलो उत्पादन गरेसँगै बजारमा माग बढेको हो ।

काँडे सिस्नुबाट मिसावटविना प्रशोधन गरी तयार गरिएको सिस्नोको पाउडर अहिले सबैको रोजाइमा पर्न थालेको छ । स्वस्थकर र स्वादिष्ट मानिने सिस्नु पाउडर प्राकृतिक हिसाबले समेत शुद्ध मानिन्छ । यसको नियमित सेवनले मधुमेह, मुटुरोग, क्यान्सरजस्ता दीर्घरोगविरुद्ध लड्ने क्षमताको विकास गर्ने, उच्च रक्तचाप नियन्त्रण गर्ने सहयोग गर्छ यसमा प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ पाइन्छ ।  

जङ्गल र घर–आँगनमा खेर गइरहेको सिस्नुलाई सङ्कलन गरी पाउडरको रुपमा उत्पादन गर्न थालेपछि स्थानीय तथा जिल्लाबाहिर यसको माग बढेको उद्योगका सञ्चालक सुन्दर शर्माले बताउनुभयो । काठमाण्डौ, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेतलगायतका जिल्लाबाट माग भएको उहाँको भनाइ छ । सिस्नु पाउडर अहिले प्रति–केजी ६ सय रुपैयाँका दरले बिक्री भइरहेको उहाँले बताउनुभयो । 

हिमालय सिस्नु पाउडर उद्योगले रुकुम पश्चिमका साँख, स्याँलापाखा, भलाक्चा, चुन, चौखाबाङ्गलगायत गाउँबाट प्राकृतिक काँडे सिस्नु सङ्कलन गर्दै आएको छ । सङ्कलन गरिएको सिस्नुलाई धुलो बनाउनुअघि सफा पानीले धोएर आल्मुनियमको जालीमा सुकाइ सकेपछि प्रविधिको सहायतामा सिस्नु पाउडर उत्पादन गरी बजारमा पठाउने गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया