अमेरिकी र चिनियाँ अधिकारीबीच उच्चस्तरीय बैठकमा आराेप प्रत्याराेप

 चैत ६, २०७७ शुक्रबार १४:३:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछि अलस्कामा चीन र अमेरिकाबीच भइरहेको पहिलो उच्चस्तरीय वार्तामा दुई देशका प्रतिनिधिबीच कडा रूपमा आरोप–प्रत्यारोप भएकाे बीबीसीले जनाएकाे छ । 

समाचार एजेन्सी रोयटर्सले लेखेको छ, ‘सार्वजनिक मञ्चमा दुई शक्तिशाली देशबीय यो स्तरको बैठकमा यस्तो आरोप–प्रत्यारोप निकै कम देख्न पाइन्छ ।’

चीनका अधिकारीहरूले यस बैठकमा अमेरिकाले अन्य देशलाई चीनमाथि आक्रमण गर्न उक्साएको आरोप लगाएका छन् भने अमेरिकी अधिकारीहरूले चीन नसोची, नसम्झी यो निष्कर्षमा पुगेको बताएका छन् ।
चीन र अमेरिकाको सम्बन्ध वर्तमान अवस्थामा सबैभन्दा तनावपूर्ण स्थितिमा रहेको छ र केही वर्षयता यही अवस्था बनेको छ । 

अमेरिकाले चीनसँगको मुद्दामा ‘विगर मुसलमानको मुद्दा’ उठाइरहने तय गरेको छ । विगर मुसलमान चीनको शिंजियांग प्रान्तमा रहने अल्पसङ्ख्यक जनजाति समुदाय हो । चीनमाथि विगर समुदायलाई दमन गर्दै आएको आरोप लाग्दै आएको छ । 

चीनले भनेको छ, ‘अमेरिकाले चीन आफ्नो अघि झुक्छ भन्ने सोचिरहेको थियाे भने ऊ धोकामा थिए ।’

क्यामरा अघि अमेरिकी विदेश सचिव एन्टनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनसँगै चीनका शीर्ष कुटनीतिज्ञ यांग जेइची र विदेश मन्त्री वांग यीको बहस भयो ।

वार्ताको सुरुवातमा नै ब्लिन्केनले भन्नुभयो, ‘अमेरिका शिनजियांग, हङकङ, ताइवान, अमेरिकामाथि भएको साइबर आक्रमण र हाम्रा सहयोगीमाथि बनाइएको आर्थिक दबाबको बारेमा चर्चा जारी राख्नेछ किनकि विश्वव्यापी रुपमा यी विषयमाथि कुरा हुन आवश्यक छ ।’

यसको जवाफमा चीनका शीर्ष कुटनीतिज्ञ यांगले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चस्वको गलत प्रयोग गरेर दोस्रो देशमा आफ्नो दबाब सिर्जना गर्न र उनीहरुलाई दबाउन कोसिस गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अमेरिका सामान्य व्यापारिक आदानप्रदानमा बाधा पुर्याउन र चीनमाथि आक्रमण गर्नका लागि केही देशलाई उक्साउन राष्ट्रिय सुरक्षाको कथित धारणाहरूको दुरुपयोग गर्छ ।’

अश्वेत अमेरिकी नागरिकप्रति लक्षित गर्दै चिनियाँ अधिकारीहरुले अमेरिकामा मानव अधिकारको स्थिति सबैभन्दा तल्लो स्तरमा रहेको बताए । 

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकाले चीनसँग कुनै झगडा नचाहेको तर अमेरिका आफ्ना नागरिक, आफ्ना सिद्धान्त र आफ्ना साथीसँग उभिएको छ उभिरहने बताउनुभयो । 

विश्वभरका सञ्चारमाध्यमको अघि दुवै देशका प्रतिनिधिको यो बहस एक घण्टाभन्दा धेरै समयसम्म चल्यो ।  

दुवै देशका अधिकारीहरूले चीन र अमेरिकाको सम्बन्धमा देखिएको स्थिति थप बिग्रन नहुने बताएका छन् ।   

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया