जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

 चैत ७, २०७७ शनिबार २०:५१:२ | रासस
unn.prixa.net

काठमाण्डाै - जापानको मौसम विज्ञान निकायले शनिवार ६.९ रेक्टर स्केलको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

सुरूमा ७.२ रेक्टर स्केल कम्पनको अनुमान गरिएको भए पनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ रेक्टर स्केलको पुष्टि भएको बताएका छन् ।

अमेरिकी भूगर्व विभागले जापानमा शनिवार गएको भूकम्पको धक्का ७.० रेक्टर स्केलको रहेको बताएको छ । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् । 

स्थानीय समयअनुसार शनिवार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रबिन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ । भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ ।

जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्केतको महशुस नगरिएको बताइएको छ । जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको वा बेपत्ता भएका थिए ।

दश वर्ष पहिले जापानमा आएको सुनामीका कारण निम्तिएको विनाशलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षितस्थलतर्फ हतारहतार भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेद्वारा भिडियोमा देखाइएको छ । सरकारले उच्च सतर्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसिनोमाकी सहरका एक स्थानीय ताकासी योकोताले एएफपीलाई बताए । 

जापानी अधिकारीले सुनामीको सम्भावना क्रमशः कम हुँदै गएको तर सावधानीका लागि अझै केही समय सुरक्षितस्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्देशन दिएका छन् ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया