नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
जुम्ला – एक दशकअघि कर्णालीका अस्पतालमा डाक्टर भेटिने गरेका थिएनन् । कुनै घटनाको शव परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था थियो । दुर्गमले परिचित कर्णाली अहिले डाक्टर विषय पढाउने भएको छ । काठमाण्डौको आँखाले कर्णाली दुर्गम भनिन्थ्यो र कर्णालीमा डाक्टरदेखि कर्मचारी आउन मान्दैन थिए । सरकारले कर्मचारीलाई कर्णालीमा सरुवा गरेपछि कारबाही गरेको सम्झने र आफूले हिनताबोध मान्ने गरेका थिए ।
भक्तपुरका डाक्टर रहिस कोजु जनरल ‘प्राक्टिस इमरजेन्सी मेडिसन’ पढ्न कर्णाली पुग्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षदेखि पढाउन सुरु गरेको स्नातकोत्तर तहको डाक्टरी पढ्न कोजु जुम्ला पुग्नुभएको हो । उहाँ छात्रवृत्तिमा कर्णालीमा आएर पढ्न थाल्नुभयो । चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको पढाइका लागि पाँच कोटा दिएपछि गएको चैत १ गतेदेखि पठनपाठन सुरु भएको भइरहेको हो ।
महँगो शुल्क तिरेर सुविधा सम्पन्न ठाउँमा गएर चिकित्सा शिक्षा पढ्नुपर्ने कर्णालीको बाध्यता थियो, अब त्यो बाध्यता हट्यो । अब कर्णालीले डाक्टर उत्पादन गरेर नेपालभर पठाउन सक्ने अवस्था रह्यो । यो कर्णालीको सुखद पक्ष हो । कर्णालीमै डाक्टर विषय पढाइ हुन थालेपछि कर्णालीका बासिन्दा निकै उत्साहित छन् ।
चिकित्सा शिक्षा आयोगले ‘जनरल प्राक्टिस इमरजेन्सी मेडिसन’मा तीन, एनएसथेसिया एक, क्रिटिकल केयरमा एक र पिडाट्रिक्समा एक पढ्न पाउने गरी कोटा पठाएको थियो । तीमध्ये अहिले जनरल प्राक्टिसमा दुई र एनएसथेसिया पढ्न एक भर्ना भएका छन् । यी सबै विषयमा पठनपाठन हुने प्रतिष्ठानले जनाएको छ ।
कपिलवस्तुका डा. वेदकुमार चौधरी कर्णालीमा स्नातकोत्तर तहको डक्टरी पढ्न पाउँदा निकै खुसी हुनुहुन्छ । उहाँले भन्नुभयोे, ‘कर्णालीमा पहिलो ब्याज पढाइ हुन थालेको हो । यो ब्याज निकै राम्रो हुनेछ । सुगमबाट दुर्गम कर्णालीको स्वास्थ्य अवस्था हेर्दा निकै कहालीलाग्दो देखिन्छ । कर्णालीले डाक्टरी पढाउन थालिसक्यो । कर्णालीमा पढेर कर्णालीमै स्वास्थ्य सेवा दिने धोको छ’, उहाँले भन्नुभयो, ‘हामी कर्णालीमै पढ्छौँ । अवसर पाएसम्म कार्यक्षेत्र पनि कर्णालीमै बनाउने छौँ । कर्णालीवासीको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन लागिपर्ने छौँ ।’
प्रतिष्ठानले बासको व्यवस्था गरेको छ । डा. ललितसिंह धाँमी दार्चुलादेखि कर्णालीमा पढ्न आउनुभयो । उहाँहरू कर्णालीमै डक्टरी पढ्न पाउँदा खुसी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कर्णाली स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका हिसाबले निकै अगाडि बढ्नेछ ।’ स्नातकोत्तर तहको डक्टरी पढाइ तीन वर्षको हुनेछ ।
तत्कालीन कर्णाली अस्पतालबाट सेवा सुरु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्लिनिकल सेवा हुँदै अहिले स्वास्थ्य क्षेत्रका रूपमा निकै ठूलो फड्को मारिसकेको छ । स्नातक तहको डक्टरी पढाइ कर्णालीको विकासको कोसेढुङ्गा भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिनुभयो ।
‘कर्णालीमा डाक्टर बस्न मान्दैनन् । डाक्टर नहुँदा कर्णालीवासी मृत्यु पर्खेर बसिराखेका छन् भन्ने सुनिन्थ्यो’, उहाँले भन्नुभयोे, ‘अहिले कर्णाली डाक्टर उत्पादन गर्ने कारखाना बन्दैछ । रोजेर कर्णालीावासीले उपचार सेवा पाउँदैछन् । स्वास्थ्य शिक्षा हासिल गर्न कर्णालीमै पाएका छन् । अहिले पाँच सिट पाएका छौँ । आउँदा वर्षमा १० देखि १५ विद्यार्थीसम्म भर्ना लिनसक्ने अवस्थामा पुग्ने छौँ ।’ उहाँले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धान प्राथमिकतामा राखेर स्वास्थ्य शिक्षाका कार्यक्रम भइरहेको बताउनुभयो । दुरदराजमा स्वास्थ्य सेवा दिने र सामाजिक रूपमा उत्तरदायी डाक्टर उत्पादन गर्ने लक्ष्य प्रतिष्ठानको छ ।
यहाँ उत्पादित डाक्टरले जस्तोसुकै दुर्गम क्षेत्रमा पनि सहजै रूपमा काम गर्न सक्नेछन् । अब बिरामी डाक्टर खोज्दै आउने होइन । डाक्टर बिरामी खोज्दै जाने र व्यावसायिक मर्यादालाई पालना गर्ने जनशक्ति उत्पादन हुनेछ । यहाँ उत्पादिन जनशक्तिले जुनसुकै दुर्गम क्षेत्रमा पनि सहजै रूपमा काम गर्न सक्नेछ ।
कर्णाली प्रतिष्ठानले पाठ्यक्रम विद्यार्थी केन्द्रित बनाएको छ । बिरामी र डाक्टरका सम्बन्ध घनिष्ट हुनेछ । पढ्दै बिरामीको सेवा गर्नेछन् । कर्णाली प्रदेशका सांसद दिनबन्धु श्रेष्ठले कर्णालीमा डक्टरीको पठनपाठन हुनु निकै सुनौलो र ऐतिहासिक कार्य भएको बताउनुभयो । डाक्टर पढ्न लाखौँ खर्च गरेर अन्यत्र जिल्लामा जानुपर्ने अवस्था थियो । शव परीक्षण गर्न सुर्खेत, नेपालगञ्ज जानुपर्थ्यो । अब कर्णालीमै डाक्टरी पढाइ हुनु सुखद क्षण हो ।
उहाँले भन्नुभयो, ‘यहाँ उत्पादित जनशक्तिलाई दक्ष र सक्षम बनाउँदै सबै प्रतिष्ठानभन्दा नमुना बनाउनुपर्छ । जागिर खान दुर्गम जाँदैन भन्ने मान्यता हटेको छ । अब दक्ष डाक्टर बन्न कर्णालीमा जानुपर्छ भन्ने मान्यता स्थापित भएको छ ।’
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कर्णालीबाट गुणस्तरीय जनशक्ति र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो । ‘प्रतिष्ठानका लागि यो आफैँमा परीक्षणकाल हो । क्वालिटी सर्भिस दिन सक्नुपर्छ । जिम्मेवार र फराकिलो सोचले शैक्षिक क्षेत्रलाई अघि बढाउनुपर्छ’ , उहाँले भन्नुभयो, ‘अध्ययन र अनुसन्धानलाई सँगसँगै लैजानुपर्छ । अबको जनशक्ति सेवामुखी हुनेछ । बिरामी डाक्टर कहाँ होइन । डाक्टर बिरामी कहाँ पुग्नुपर्नेछ । सेवा भावको हिसाबले जुट्नुपर्छ । पदाधिकारी अधिकांश समय जुम्लामै बस्नुपर्छ ।’
पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना हुँदा धेरैले विश्वास नगरेको स्मरण गराउँदै हेर्दाहेर्दै डाक्टर उत्पादन हुन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कर्णाली अभाव, अशिक्षा, रोग र भोकको मात्र प्रयाय बनिरह्यो । सरकारमा बस्नेले कर्णालीलाई हेर्ने नजर कहिले फेरिएन । तर पछिल्लो समयमा कर्णाली प्रतिष्ठानमा भइरहेको क्रियाकलापले निकै राम्रो सन्देश दिएको छ । अब कर्णालीको युवा जनशक्ति डक्टरी पढ्न बाहिर जाने छैन । कर्णालीमै सस्तो र सुलभ रूपमा स्वास्थ्य शिक्षा हासिल गर्नेछ । यो खुसीको विषय हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।