दुई बालिकालाई अपहरण गरी बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

 चैत ११, २०७७ बुधबार ११:३३:५३ | राजु लामिछाने
unn.prixa.net

फाइल तस्बिर

रुकुम पूर्व – दुई जना बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गरेको आरोपमा दुई जना युवा पक्राउ गरेका छन् । रुकुम पूर्वका १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी शरीर बन्धक बनाइ करणी गरेको अभियोगमा रुकुम पूर्वकै दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा २३ वर्षका युवा र १४ वर्षका किशाेर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई सोमबार पक्राउ गरिएको हो । चैतको १ गते घरबाट हराएका ती बालिकाहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै प्रहरीमा आफन्तको निवेदन परेको डीएसपी श्रेष्ठले बताउनुभयो ।

निवेदन परेलगत्तै प्रहरीले अनुसन्धान थालेको र त्यही दिन अभियुक्त दुई जनालाई रुकुमकोटबाट पक्राउ गरिएको उहाँले  जानकारी दिनुभएको छ । अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकामाथि बलात्कार हुँदै आएको अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताउनुभयाे । डीएसपी श्रेष्ठकाअनुसार ती बालिकाहरुलाई बिहान ५ बजेको समयमा दिसा पिसाब गराउनको लागि आफै शौचालय पुर्याउने र त्यसपछि दिनभरी कोठामा थुनेर राख्ने गरेको खुल्न आएको छ ।

बालिकाहरु रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिएर डराइरहेको पनि प्रहरीले जनाएको छ । जबरजस्ती करणी गर्ने उद्देश्यले बालिकाको अपहरण गरी बन्धक बनाएको खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्त दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्धा दर्ता गरिएको छ ।

बालीकाको भने स्वास्थ्य परीक्षण चलिरहेको र प्रहरीको संरक्षणमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै छिटै आफन्तको जिम्मा लगाउने डीएसपी श्रेष्ठले बताउनुभएको छ । प्रहरीले आराेपी दुवै जनालाई थप अनुसन्धानका लागि भन्दै रुकुमकोट जिल्ला अदालतबाट म्याद थपाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया