अब बिहान ५ बजे नै विमानस्थल खुल्ने, बेलुकी ६ बजेपछि पनि आन्तरिक उडान

 भदौ ५, २०७५ मंगलबार ११:२०:२८ | उज्यालो सहकर्मी

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको हवाइ चाप कम गर्न आन्तरिक टर्मिनल बिहान ५ बजेदेखि नै खुलाइने भएको छ ।

अहिले ६ बजे खुल्दै आएको आन्तरिक टर्मिनल सेप्टेम्बर १ अर्थात भदौ १६ गतेदेखि बिहान ५ बजे नै खुलाइने विमानस्थलले जनाएको छ । अहिले ६ बजे विमानस्थल खुल्दा बिहानको ९/१० बजेसम्म आन्तरिक विमानकै चाप धेरै हुने अवस्था आएको भन्दै अब बिहान ५ बजे नै विमानस्थल खुलाउने तयारी भैरहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले उज्यालोलाई जानकारी दिनुभयो ।

बिहान ५ बजे कार्यालय खुल्ने र ६ बजे केही विमान उडिसक्ने उहाँले जानकारी दिनुभयो । अहिले जहाज र हेलिकप्टर गरी त्रिभुवन विमानस्थलबाट झण्डै ३ सय उडान हुँदै आएका छन् । हवाइ चाप कम गर्न सरकारले त्रिभुवन विमानस्थल २१ घण्टा खुला गर्ने निर्णय गरे पनि विमानहरुले तालिका परिवर्तन गर्न नमान्दा प्रभावकारी हुन सकेको छैन ।

हवाइ चापका कारण कुनै कुनै दिन जहाजले आकासमै फन्को लगाउनुपर्ने बाध्यता रहेको छ ।

बेलुकी ६ बजेपछि पनि आन्तरिक उडान

अहिले कहिलेकाँही मात्रै बेलुकीको उडान गर्दै आएका आन्तरिक विमान कम्पनीले अब भने अनिवार्य रुपमा बेलुकी ६ बजेपछि पनि जहाज उडाउनुपर्ने भएको छ ।
असोज १६ गतेदेखि बुद्ध, यती र श्री एअरलाइन्सले दैनिक २५ वटा फ्लाइट बेलुकी ६ बजेपछि गर्नुपर्ने महाप्रबन्धक क्षेत्रीले जानकारी दिनुभयो ।

भैरहवा, विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा राति पनि उडान र अवतरण गर्न सकिने भएकाले यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । यस्तै जनकपुर र चन्द्रगढीमा पनि रात्री उडानको लागि काम भैरहेको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया