‘संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलकाे अलमलका कारण संसद् बैठक प्रभावकारी भएन’

 चैत १८, २०७७ बुधबार १९:४७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षीलगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारको कारण संसद् प्रभावकारी नभएको नभइ प्रतिपक्षी दललगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको हो । 

सरकार संसद्लाई बिजनेस दिन तयार रहेको मन्त्री ज्ञवालीकाे भनाइ छ । संसद्लाई सही ढङ्गले अगाडि लैजानका लागि सभामुखको नेतृत्वदायी भूमिका हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विधेयकहरू पहिलो बैठकमा प्रस्तुत गर्न नपाएपछि संविधानअनुसार पनि फेरि प्रस्तुत गर्न केही कठिनाइ परे । सरकार बिजनेस दिन तयार छ । सरकारका कारणले संसद् प्रभावकारी नभएको, संसद् बैठक प्रभावकारी नभएको होइन । प्रतिपक्षी दललगायत संसद् पुनर्स्थापनाको पक्षमा लाग्नुभएकाहरू आफैँ अलमलिनुभएकाे छ संसद् प्रभावकारी नहुनका लागि । सदनलाई सही ढङ्गले अगाडि लैजाने कुरामा नेतृत्वदायी भूमिका हुनपर्‍याे सभामुखको । सबै राजनीतिक दलसँग समझदारी हुनुपर्‍याे । सरकारसँग समन्वय गर्नुपर्‍याे । भोलि सरकारले प्रस्तुत गरेका अध्यादेशहरू, अरू बिजनेसहरू अवरोध हुँदैन भन्ने ग्यारेन्टी के ?’

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताउनुभयो । विपक्षी दलले विकल्प दिए पनि आफूहरू सरकारमा बसिनरहने उहाँको भनाइ छ । हतारमा समर्थन छाडेर राजनीतिक अस्थिरतातर्फ आफूहरूले लान नचाहेको नेता पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी राजनीतिक स्थायित्व चाहन्छौँ । ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहँदैनौँ, स्थिर चाहन्छाैँ । तपाईँ सरकारलाई बहुमत जुटाउनुस् । अरू विपक्षी दलले बहुमत जुटायो भने हामी त्यस दिन छोड्छौँ । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको, सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’ 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया