नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
कास्की - नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँका रूपमा कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेकाे लुम्ले गाउँको चासो र चर्चा यत्रतत्र छ ।
नेपालको चेरापुञ्जी उपमा पाएको प्रकृतिको वरदान लुम्ले साहित्य सर्जकका लागि पनि उर्वर भूमि मानिन्छ । लोकप्रिय कवि एवं गीतकार स्व विनोद गौचनको परिकल्पनामा २०६५ साल चैत १५ गते कविता गाउँका रूपमा घोषित लुम्लेमा समय समयमा साहित्यिक सर्जक पुग्ने र घुम्ने गरेका छन् ।
चिटिक्क मिलेको झण्डै ४०० घरधुरीयुक्त यो गाउँ आफैँमा सुन्दर छ । मोटरबाटोको सुविधा नहुँदा यही गाउँको बाटो हुँदै तीर्थयात्री मुक्तिनाथ जाने भएकाले पनि यहाँको धार्मिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै छ। सुन्दर रमणीय गाउँ भएर पनि कविता गाउँ घोषणापूर्व भने यसको खासै चर्चा थिएन । कविता गाउँ घोषणाले यहाँको महिमा र गरिमालाई देश विदेशमा पुर्याएको लुम्ले कविता गाउँका संस्थापक भक्तिराम देवकोटाले बताउनुभयो ।
'कविता गाउँ घोषणासँगै यहाँ देश विदेशका साहित्यानुरागी आउने र विभिन्न कार्यक्रम गर्ने गरेका छन्', उहाँले भन्नुभयो, 'कविता गाउँमा हुने गरेका विभिन्न कार्यक्रमले यहाँका सर्वसाधारणमा पनि केही न केही सचेतना र जागरण बढाएको छ ।'
‘जति माया लाए पनि, जति कसम खाए पनि’, ‘तगारोमा रूमाल राखि बाटो छेक्यौ तिम्ले’, ‘कस्तो ठाउँमा फूल्यौ तिमी टिप्नै गाह्रो भो’ जस्ता गीत तथा ‘ढुङ्गेसाँघुको मेलामा’ र ‘पोखरामा फूल फुल्दैन’ कविता कृतिका रचयिता स्व विनोद गौचनको परिकल्पनामा घोषित कविता गाउँ उठ्दै र जाग्दै अघि बढिरहेको देवकोटाले बताउनुभयो ।
आफ्ना साहित्य सिर्जनाका क्रममा लुम्लेसहित यो आसपासका घान्द्रुक, लान्द्रुक, तोल्का आदि ठाउँ डुल्ने गौचनले आफूलाई साहित्य तथा सङ्गीत सिर्जनाको प्रेरणा दिएको अनुभूतिका कारण यस ठाउँलाई कविता गाउँ घोषणा गर्नुपर्ने प्रस्ताव गर्नुभएको देवकोटाले अनुभव सुनाउनुभयो ।
पर्यटकीय रूपमा समेत यस ठाउँको महत्त्व रहेको उल्लेख गर्दै देवकोटाले यही गाउँ हुँदै पुनहिल, मर्दी हिमाल र अन्नपूर्ण आधार शिविर जाने पदमार्ग रहेका कारण यसको उत्तिकै महत्त्व रहेको स्पष्ट पार्नुभयो । विभिन्न जातजातिको साझा थलो लुम्लेमा गुरुङ, थकाली, बाहुन, क्षेत्री र विश्वकर्मा आदिको बसोबास छ भने आसपासका पोथाना, चन्द्रकोट, अष्ट्रेलियन क्याम्प, लान्द्रुकलगायतका ठाउँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यले जो कोहीको मन लोभ्याउने गरेको छ ।
कविता गाउँ घोषणासँगै साहित्यानुरागीको बढ्दो चहलपहलका साथै संस्थागतरूपमा पनि विभिन्न औपचारिक कार्यक्रम हुन थालेपछि स्थानीयवासीमा सचेतना र जागरण बढाएको स्थानीय सिद्ध आधारभूत विद्यालयका शिक्षक शिव देवकोटाले बताउनुभयो ।
विभिन्न आरोह अवरोहसमेत पार गर्दै अघि बढेको यस गाउँमा २०७२ साउन १३ गते गाउँको बीच भाग हुँदै गएको पहिरोले अपूरणीय क्षति पुर्याएको उहाँले बताउनुभयो । देवकोटाका अनुसार त्यस पहिरोमा परि गाउँका २८ जनाको निधन भएको थियो ।
विनोद गौचनले कविता गाउँका रूपमा चिनाएको लुम्ले गीतकार स्व प्रवीण गुरुङको जन्मस्थान पनि हो । गीतसङ्गीतको क्षेत्रमा राम्रै योगदान गरेका गुरुङको २०५१ साउन २२ गते काठमाण्डौमा गाडी दुर्घटनामा निधन भएको थियो
‘यो दाजुको मिरमिरे आँखा’, ‘सालैजो हितैको माया’, ‘फूल मायामा नभुल’, ‘माथिबाट को आयो सालको पात बजाउँदै’ लगायतका चर्चित गीत गाएका गुरुङको योगदानलाई जीवन्त राख्न अन्नपूर्ण गाउँपालिका कास्कीको पाँच लाख रुपैयाँ सहयोगमा हालै स्व प्रवीण गुरुङ स्मृतिपार्क निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।
पार्क रहेको ठाउँमा उहाँका परिवारजनले एक लाख ७० हजार रुपैयाँको लागतमा स्व गुरुङको शालिक स्थापना गरेका छन् । 'कला साहित्य र सङ्गीतको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ', अध्यक्ष कुँवरले भन्नुभयो, 'राष्ट्रियस्तरको एक जनासहित गाउँपालिकामा जन्मस्थान भएर कला, साहित्य, सङ्गीतका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई प्रत्येक वर्ष सम्मान गर्ने योजना पनि छ ।'
लुम्ले कविता गाउँमा स्व प्रवीण गुरुङको पार्क स्थापना हुनुले यहाँको महत्त्व अझै बढाएको बताउने कविता गाउँका संस्थापक अध्यक्ष देवकोटा उठ्दै र जाग्दै र बढ्दै गरेको यो स्थल गीत, सङ्गीत र साहित्यानुरागीको पुग्नैपर्ने गन्तव्यका रूपमा विकास हुने बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।