नागरिकले नेता सच्याउने बेला आयो : जनार्दन शर्मा

 चैत २४, २०७७ मंगलबार २०:२:४७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नागरिकले नेता सच्चाउने बेला आएको बताउनुभएको छ । नेताले गल्ती गरेमा नागरिकले खबरदारी गर्ने र गलत कामको भण्डाफोर गर्ने अधिकार पाएको भन्दै उहाँले आफूले गल्ती गरेमा नागरिककाे बीचमा माफी माग्न तयार रहेको बताउनुभएको छ । 

३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमले रुकुम सदरमुकाममा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रूपान्तरणका लागि जन प्रशिक्षण कार्यक्रममा बोल्नु हुँदै पूर्व गृह मन्त्रीसमेत रहनुभएका शर्माले भ्रष्टाचारका विरुद्ध नागरिक जाग्न आह्वान गर्नुभयो । 

उहाँले पार्टी अध्यक्ष प्रचण्डले विकास गरेको समाजवादको दिशालाई रुकुमबाट लागू गर्ने शर्माले उल्लेख गर्नुभयो । नयाँ विचारको निर्माण र संश्लेषणका लागि आधार तयार गर्न आफू तयार भएको बताउँदै उहाँले प्रचण्डले रोपेको समाजवादको बिउमा रुकुमले नर्सरीको रूपमा तयार रहने बताउनुभयो । 

फरक प्रसङ्गमा उत्पादन र बजारीकरणको लागि जिल्लामा श्रम सहकार्य समूहमार्फत कार्य गरेर गरिबीलाई डाँडा कटाउने बताउँदै उहाँले ६ महिनाभित्रै किसानहरूको शेयरमा जिल्लामा दुग्ध उद्योग सञ्चालन गर्ने बताउनुभयाे ।   

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया