हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

 चैत २९, २०७७ आइतबार ८:५२:३३ | रासस
unn.prixa.net

हुम्ला – सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । “लिमिटेडले सिमकोट केन्द्रका लागि १४ हजार क्विन्टल चामल माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्रअनुसार जम्मा सात हजार क्विन्टल मात्रै स्वीकृत भएको छ’, अधिकारीले भन्नुभयो, “तर विगतका वर्षहरु भन्दा यतिबेला पहिलो पटक धेरै खाद्यान्न स्वीकृत भएको हो ।”

स्वीकृत भएको कोटाको चामल कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ढुवानी हुने बताइएको छ । जिल्लाको मागअनुसार स्वीकृत भएको खाद्यान्न निजी विमान कम्पनी सीता एअरले ढुवानी गर्नेछ । चामल ढुवानीका लागि सीता एअरलाई जानकारी समेत गराइसकिएको र अबको केही दिनदेखि नियमितरूपमा चामल ढुवानी गर्ने भएको सीता एअरको सिमकोट स्टेशन सहायक इञ्चार्ज सूर्य लामाले बताउनुभयो ।

हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि चामलका लागि हानथाप हुने र जहिले पनि समस्या हुने गरेको छ । चर्को खडेरीका बीच जेठमा पाक्ने गहुँ बाली पनि अपेक्षाकृत रूपमा नफल्ने भएपछि सरकारले यो समयमा स्वीकृत गरेको चामलको कोटाले चामल वितरणमा खासै समस्या नहुने बताइएको छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया