नेपालले हङकङलाई ६ विकेटले हरायो
चैत १, २०८१ शुक्रबार
काठमाडौं – नेकपाको सचिवालय बैठकमा भएका निर्णयहरु अहिले पनि नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नै सञ्चारकर्मीमाझ सार्वजनिक गर्दै आउनुभएको छ ।
राजीनामापछि पहिलोपटक गएको साउन २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले गरेका निर्णयहरु पनि उनै श्रेष्ठले बैठक लगत्तै सञ्चारकर्मी माझ सार्वजनिक गर्नुभयो । सोमबारको नेकपाको सचिवालयले गरेका निर्णयहरु पनि श्रेष्ठले नै सार्वजनिक गर्नुभयो ।
साउन ७ गते प्रवक्ताबाट राजीनामा दिएको बताएका श्रेष्ठले यसपछि बसेका सबै बैठकका निर्णयहरु आफैले पत्रकारमाझ सार्वजनिक गर्दै आउनुभएको छ । बैठक लगत्तै बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ताको रहन्छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु पनि मन्त्रिपरिषदका प्रवक्ताले सार्वजनिक गर्ने चलन छ ।
अन्य पार्टीको चलन पनि बैठकमा भएका निर्णयहरुको जानकारी प्रवक्ताले दिने भन्ने छ । तत्कालीन एमाले र माओवादी केन्द्र बीचको एकतापछि श्रेष्ठलाई सचिवालय सदस्य तथा पार्टीको प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
गएको साउन ७ गते प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको विवादपछि श्रेष्ठले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिनुभएको थियो । तर बैठकका निर्णयहरु लगातार रुपमा श्रेष्ठले नै सार्वजनिक गर्दै आउनुभएकाले धेरैलाई उनको राजीनामा फिर्ता भएको भन्ने लागेको छ ।
तर राजीनामाका सन्दर्भमा पार्टीले अहिलेसम्म निर्णय लिइनसकेको र अहिले सचिवालय सदस्यको नाताले मात्रै बैठकका निर्णयहरु आफूले सार्वजनिक गर्दै आएको श्रेष्ठले बताउनुभयाे ।
‘बैठकमा भएका निर्णयहरु मैले सचिवालय सदस्यको नाताले मात्रै सञ्चारकर्मीहरुलाई जानकारी गराएको हुँ,’ उहाँले भन्नुभयो, ‘प्रवक्ताको हैसियतले होइन ।’
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि श्रेष्ठले पार्टीको प्रवक्ताबाट राजीनामा दिएको पनि झण्डै १ महिना हुन लागेको छ । तर राजीनामा दिएको एक महिना हुन लाग्दा समेत यसबारेमा पार्टीले कुनै निर्णय लिन सकेको छैन ।
सकेसम्म श्रेष्ठलाई फकाएर पुनः प्रवक्ताकै कार्यभारको जिम्मा लगाउन पार्टी अध्यक्ष द्वय ओली र पुष्पकमल दाहालले खोजेको देखिन्छ । तर श्रेष्ठ भने सो जिम्मेवारीमा नफर्कने आडानमा हुनुहुन्छ ।
उज्यालो अनलाईसँग कुरा गर्दै श्रेष्ठले स्वतन्त्रपूर्वक एउटा सचिवालय सदस्यको हैसियतमा पार्टीको काम कारबाहीमा संलग्न हुन आफूले राजीनामा दिएको प्रष्ट पार्नुभयो ।
फेरि उही जिम्मेवारीमा फर्कने आफ्नो कुनै योजना नरहेको र पार्टी अध्यक्षहरुलाई पनि त्यही जानकारी दिसकेको उहाँले बताउनुभयो । तर पार्टीले यसबारेमा निर्णय गर्न भने किन ढिलाई गरेको हो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उहाँको भनाई छ ।
देशकै ठूलो पार्टी एक महिनासम्म प्रवक्ताविहीन हुँदा पार्टीले गरिरहेको काम कारबाही र उसको गतिविधि बुझ्न सञ्चारकर्मी र पार्टीका कतिपय नेताहरुलाई नै सकस भएको छ ।
प्रवक्ताले राजीनामा दिएको एक महिना हुन लाग्दा पनि पार्टीले किन केही निर्णय गर्न नसकेको भनेर महासचिव विष्णु पौडेललाई सोध्दा उहाँले यसबारेमा आफूले केही बताउन नसक्ने जवाफ दिनुभयो । ‘अहिले म यसबारेमा बताउन सक्दिन,’ उहाँले भन्नुभयो, ‘पछि नै यसबारेमा तपाईँहरुले थाहा पाउनुहुने छ ।’
पार्टीले श्रेष्ठलाई अझै पनि प्रवक्ताकै जिम्मेवारीमा राखि राख्न चाहेको छ । तर पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुग्न भने सकेको छैन । साउन ७ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीसँग भनाभन भएपछि श्रेष्ठले राजीनामा दिनुभएको थियो ।
श्रेष्ठले ‘तपाईहरुको प्रवक्ता तपाईँहरु नै राख्नोस’ भन्दै त्यतिबेलै बैठकमै लिखित राजीनामा बुझाएर बाहिरिनुभएको थियो । अनसनमा बसेका डा. गोविन्द केसी गएको भन्दै श्रेष्ठसँग ओलीलगायत नेकपाका शीर्ष नेताहरुले असन्तुष्टि जनाएका थिए ।
प्रवक्ता श्रेष्ठको राजीनामाको विषयमा नेकपाको स्थायी समितिको बैठकमा पनि कुरा उठ्ने निश्चित छ । समासमयिक विषय, पार्टीका आगामी कार्यक्रम र संगठन विस्तार, र सरकारलाई थप प्रभावकारी बनाउन भन्दै यही भदौ १९ र २० गतेदेखि नेकपाको स्थायी समितिको बैठक बस्दै छ ।
यही भदौ १४ र १५ गते दुई दिनसम्म चल्ने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को बैठकलाई लक्षित गर्दै शुक्रबारदेखि बस्ने भनेको नेकपाको सचिवालय बैठक १९ र २० गतेका लागि सारिएको हो ।
राजीनामाको विषयमा पार्टी अनियर्णयको बन्दीमा पर्नुले कार्यकर्तामाझ राम्रो सन्देश नगएको नेकपाकै सदस्यहरु बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।