चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निकुञ्ज क्षेत्रबाट निर्माण गर्दा १ अर्ब रुपैयाँ लागत घट्ने

 बैशाख १, २०७८ बुधबार १०:५४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निर्माण गर्दा चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको लागत घट्ने देखिएको छ ।

रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइनले गरेको अध्ययन अनुसार निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन बनेमा झण्डै १ अर्ब रुपैयाँ लागत घट्ने देखिएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभएको छ । यसअघि वन क्षेत्रबाट अध्ययन गरिएको थियो ।

यसअघि कोरोना सङ्क्रमणका कारण आयोजनाको अरु काम रोकिएपछि निकुञ्ज क्षेत्रमा सर्भे गरिएको थियो । निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन निर्माण भएमा आयोजनाको लागत, दूरी र टावरको संख्या समेत घट्ने आयोजना प्रमुख आत्रेयको भनाइ छ । ६ वर्षमा निर्माण सम्पन्न हुने गरी अघि बढाइएको आयोजनामा झण्डै १० अर्ब खर्च हुने अनुमान गरिएको छ ।

वन क्षेत्रबाट निर्माण गर्दा प्रसारण लाइनको दूरी ७० किलोमिटर, १० अर्ब रुपैयाँ लागत र २ सय १४ वटा टावर निर्माण गर्नुपर्छ । तर निकुञ्ज क्षेत्रबाट निर्माण गरे लाइनको दूरी ६५ किलोमिटर, लागत ९ अर्ब र १ सय ७१ वटा टावर निर्माण गरे पुग्छ । आयोजनाले सम्भाव्यता अध्ययनको काम सकाएर दुई देशबीच विद्युत् आदानप्रदान गर्नका लागि नेपालतर्फ यसअघि नै लोड फ्लो टेस्टको काम पनि सकेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिने गरी काम अगाडि बढाइएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको चीनतर्फ तिब्बतमा रहेकाे जिलोङ काउन्टी र नेपालतर्फ नुवाकोटको त्रिशुलीमा सब-स्टेशन राखिने छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया