ससंद्काे सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरियाे : कांग्रेस नेता सिंह

 बैशाख ६, २०७८ सोमबार १४:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन काठमाण्डाै शाखाले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान दिन सोमवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसद्को सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरेको बताउनुभएको हो ।

मङ्गलवार संसद् बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार दिउँसाे १ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको छ । नेता सिंहले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभएका प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक हैसियत गुमाएको र संसद्लाई सामना गर्न नसकेको बताउनुभयो । संसद्लाई स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको पनि उहाँले बताउनुभयो ।  

राजनीतिक, संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाइ कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पनि नेता सिंहले बताउनुभयो । चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्न म्यान्डेट प्राप्त भए पनि कम्युनिस्ट सरकारले हैसियत गुमाएको अवस्थामा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । पारदर्शी चुनाव गराउनका लागि पनि कांग्रेस नेतृत्वको सरकार चाहिने नेता सिंहकाे भनाइ छ । 

सरकारले कोरोना फैलिन सक्ने भन्दै नागरिक र अन्य राजनीतिक दललाई भेला हुन नदिने तर सरकार र सत्ताधारी दल आफैले ठाउँ–ठाउँमा सभा र भेला गर्दै हिँडेको उहाँले बताउनुभयो । ओली नेतृत्वले गरेका कुनै पनि भेला कोरोनामुक्त हुने तर अरूले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया