ठेक्काको म्याद सकियो, अस्पतालमा आएन अक्सिजन प्लान्ट

 बैशाख ७, २०७८ मंगलबार १९:४८:४९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – स्वास्थ्य सामग्री खरिदमा ठेकेदारले लापर्बाही गर्दा रुकुम पश्चिममा अक्सिजन प्लान्ट नपुग्दा गम्भीर प्रकृतिका बिरामी त्यस सेवाको अवसरबाट वञ्चित भएका छन् ।  

उच्च प्रकृतिका बिरामी र कोरोना भाइरस सङ्क्रमणको लक्षणसहितका बिरामीको उपचारमा अत्यावश्यक मानिने अक्सिजनको डोज दिन अक्सिजन प्लान्ट चाहिने हुन्छ । तर ठेक्का पाएको कम्पनीको लापर्बाहीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट आएको छैन । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख विष्णु बुढाथोकीका अनुसार ठेकेदारले सामग्री सुर्खेत पुगेको, अब आउँछ–आउँछ भन्दै अड्काइरहेको छ ।  

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आह्वान गरेको अक्सिजन प्लान्ट खरिदको ठेक्का विभूति इन्टरनेशनल काठमाण्डौले पाएको थियो । गएकाे चैत ६ गतेसम्म खरिद गरिसक्नुपर्ने सामग्री अहिलेसम्म अस्पतालमा आएको छैन । ४० लाख रुपैयाँमा भएको ठेक्का सम्झौता ठेकेदार कम्पनी र माथिल्लो निकायको हिमचिमको कारण खरिदमा ढिलाइ भएको बताइएकाे छ । सामान खरिदको लागि भएको सम्झौता अन्तिम पटक तीन महिनाको लागि थप भएको थियो । चैत ६ गते अन्तिम म्याद रहेको ठेक्काबारे प्रदेश सरकार, स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालयसमेतले बेवास्ता गरेको अस्पताल स्राेतले जनाएको छ । 

त्याे मेशिन प्लान्ट व्यवस्थापन भएमा सामान्य बिरामीका लागि चाहिने अक्सिजन सिलिण्डरसमेत जिल्लामै तयार गर्न सकिने डा. राजकुमार भुजेलले बताउनुभयो । अस्पतालमा सामान्य प्रकृतिका बिरामीलाई चाहिने अक्सिजन सिलिण्डरमात्र छन् जसले प्रति मिनेट पाँच लिटर अक्सिजन बिरामीलाई दिन सकिन्छ । तर कोरोना सङ्क्रमित तथा उच्च डोज अक्सिजन दिनुपर्ने बिरामीका लागि अक्सिजन प्लान्ट चाहिने डा. भुजेलले बताउनुभयो । अक्सिजन प्लान्टकाे व्यवस्था भए 'हाई फ्लो' को दरले अक्सिजन दिन सकिने उहाँले बताउनुभयो । 

हिजो (सोमबार) कोरोना सङ्क्रमणका कारण अस्पतालमा ज्यान गुमाएकी एक महिलालाई अक्सिजन प्लान्टको व्यवस्था भएको भए केही समय होल्डमा राखेर बचाउन सकिने र रिफर गरेको ठाउँमा पुर्‍याउन सकिने चिकित्सकले बताएका छन् ।  

ठेकेदार कम्पनीको लापर्बाही र नागरिककाे स्वास्थ्यमा परेको प्रभावबारे जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले तत्कालै सम्बन्धित निकायमा कुरा गर्ने बताउनुभयो । सार्वजनिक खरिद ऐनमा भएका गम्भीर त्रुटि र ठेकेदारको बेइमानीको असर नागरिकले खेप्न बाध्य भएको यो एउटा उदाहरण भएको समेत प्रमुख शर्माले जनाउनुभयो । यस विषयमा अस्पतालसँग समेत बुझेर तत्काल समन्वय गर्ने प्रमुख शर्माकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया