जनशक्ति अभावमा भेन्टिलेटर लगायत करोडाैँका स्वास्थ्य उपकरण थन्किए

 बैशाख ८, २०७८ बुधबार ८:४७:३८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – करोडौँ रकम खर्च गरेर ल्याइएका महत्वपूर्ण स्वास्थ्य उपकरणहरु आवश्यक जनशक्ति अभावमा वर्ष दिनदेखि थन्किएका छन् । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा गएको वर्ष खरिद गरिएका भेन्टिलेटर सहितका उपकरण जनशक्ति अभावमा अस्पतालमै थन्किएका हुन् ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख विष्णु बुढाथोकीले जनशक्ति अभावमा भेन्टिलेटर सहितका उपकरण प्रयोगमा नआएको बताउनुभयो । करिब १ करोड ५० लाख बराबरका भेन्टिलेटर, आईसीयू मेसिन, आईसीयू बेड, अक्सिजन लगाउने मेसिन, बिरामी जाँच गर्ने प्यासेन्ट मनिटर लगायतका महत्त्वपूर्ण सामाग्री सञ्चालनमा नआएको निमित्त प्रमुख बुढाथोकीको भनाइ छ । 

जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डाक्टर राजकुमार भुजेलले सामाग्री खरिदको बेला एक दिन मात्र प्रदेश सरकारले तालिम दिएको बताउनुभयो । एक दिनको तालिममा सहभागी स्वास्थ्यकर्मीले भेन्टिलेटर मेसिन खोल्न र बन्द गर्न मात्र सिक्ने उहाँको भनाइ छ । 

‘डाक्टर भनेपछि सबै भइहाल्छ भनेर पन्छिने प्रवृत्ति भयो,’ डा. भुजेलले भन्नुभयो, ‘महंगो सामाग्री खरिद गरेर जनशक्ति व्यवस्थापन तर्फ भने कसैको ध्यान गएन ।’

थन्क्याएर राखेका भेन्टिलेटर सहितका उपकरण चलाउन क्रिटिकल केयर मेडिसिन सम्बन्धी विशेषज्ञता हासिल गरेको जनशक्ति चाहिने डा. भुजेलले बताउनुभयो । 

थन्किएर रहेका करोडौँका उपकरणहरु सञ्चालनको लागि उपयुक्त जनशक्ति व्यवस्थापनको लागि स्थानीय, प्रदेश र संघीय सरकारले यस विषयमा ध्यान नदिएको अस्पतालको अस्पतालको गुनासो छ । 

यता जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले भने अस्पतालमा रहेका यावत् समस्याहरुबारे आफूले तत्कालै समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।

‘म अब आफै अस्पताल गएर समस्याहरु बुझ्छु’, प्रमुख शर्माले भन्नुभयो, ‘अनि समस्याको कारण पत्ता लगाएर समाधानको लागि लागिपर्छु ।’ जनताको स्वास्थ्य अधिकारमा कोहि कसैले खेलाचि गरेमा आफुलाई सह्य नहुने प्रमुख शर्माको भनाइ रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया