ग्लोबल आइएमई बैंकले फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदक...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – (काेभिड–१९) कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा बढे पनि नियन्त्रणको कदम चाल्न सरकारले उदासिनता देखाएको सांसदहरूले बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गर्दै सांसदहरूले कोरोनाको दाेस्रो लहर तीव्र गतिमा फैलिएको भए पनि यसको रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनको काममा सरकारले उदासिनता देखाएको बताएका हुन् ।
कोरोनाको अघिल्लो लहरमा भएका कमी कमजोरी र अनुभवबाट पाठ सिकेर अघि बढ्नुपर्ने भए पनि अहिलेसम्म कोभिड–१९ को व्यवस्थापनको सम्बन्धमा सरकार पहिलेकै अवस्थामा रहेको सांसदहरूको भनाइ छ ।
सांसद जीवनराम श्रेष्ठले सरकार संवेदनशील बन्न नसक्नु आश्चर्यको कुरा भएको बताउनुभयो । अस्पतालहरूको अवस्था अझै सुधार नभएको भन्दै उहाँले सरकार आफैँले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरेको बताउनुभयो ।
सांसद अञ्जना विशङ्खेले दीर्घकालीन रोगका बिरामीहरूका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो । विगतमा क्वरेण्टीनमा खानाका कारण समस्या भएको भन्दै आउँदा दिनमा सुधार्नुपर्ने उहाँकाे भनाइ छ । काेरोना नियन्त्रणका लागि तीन तहका सरकारकाबीचमा समन्वय हुन नसकेको सांसद विशङ्खेले बताउनुभयाे । उहाँले आउँदा दिनमा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद सरिता न्यौपानेले स्वाब सङ्कलन, यातायात र भण्डारणमा समस्या भएका कारण यथार्थ रिपोर्ट आउन नसकेको भन्ने सुनिएकाले त्यसतर्फ सरकारले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । परीक्षणमा लापर्बाही हुन नहुने पनि उहाँले बताउनुभयो ।
सांसद एकवाल मियाँले पनि कोरोना नियन्त्रणका लागि तिनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो । कोरोनाबाट बच्न आवश्यक मेडिकल सामग्री तथा पूर्वाधारको व्यवस्थापन अहिलेदेखि नै गर्नुपर्ने उहाँको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना सङ्क्रमण दर वृद्धि भएसँगै काठमाण्डाै उपत्यकामा दुई हजार आइसोलेशन बेड सञ्चालनमा ल्याइएको बताउनुभयो । यस्तै सातवटै प्रदेशमा दुई हजार आइसोलेशन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
आइसोलेशन बेडलाई अस्पतालसँग जोडिने पनि उहाँकाे भनाइ छ । केन्द्र सरकारले दुई सयभन्दा बढी भेन्टिलेटर जोडेको तथा प्रत्येक प्रदेशले ३० देखि ५० वटा भेन्टिलेटर किनेर राखेको पनि उहाँले बताउनुभयो ।
केन्द्र सरकारले चार सयभन्दा बढी आईसीयू बेड थपेको र प्रदेश सरकारले दुई सयदेखि दुई सय ५० वटासम्म आईसीयू बेड थपेको जानकारी गराउनुभयो । आवश्यक औषधि र अक्सिजन भारत अथवा बङ्गलादेशबाट ल्याउने तयारी पनि गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख विशेषज्ञ पोखरेलले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना हुन नसकेको बताउनुभयो । कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र अन्यले हेर्ने दृष्टिकोणमा फरक परेको पनि उहाँको भनाइ छ । अहिलेको अवस्था गम्भीर भएकाले लकडाउन गर्ने अथवा विशेष क्षेत्र तोकेर लकडाउन गर्ने भन्ने विषयमा पनि भोलिको दिनमा सोच्नुपर्ने उहाँले बताउनुभयो ।
जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गराउन सकेमात्रै अहिलेको सङ्कटलाई टार्न सकिने प्रमुख विशेषज्ञ पोखरेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।