विद्यालयको पुनर्निर्माण असारभित्रै सकिने, अहिलेसम्म ५३ अर्ब १९ करोड रुपैयाँ खर्च

 वैशाख ९, २०७८ बिहीबार १८:३२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण आउँदो असारभित्रै सकिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले पत्रकार सम्मेलन गरेर असारसम्म सबै विद्यालयको पुनर्निर्माण सकिने जानकारी दिएको छ ।  

भूकम्पमा ३१ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५ सय ८४ कक्षाकोठामा क्षति पुगेको थियो । क्षतिग्रस्त भएकामध्ये ३ सय २७ वटा विद्यालय गाभिएका छन् भने १ सय ५३ वटा विद्यालय सञ्चालनमा छैनन् । क्षतिग्रस्तमध्ये सात हजार ५ सय ५३ वटा विद्यालय भवन पुनर्निर्माण हुनुपर्नेमा अहिलेसम्म ६ हजार २ सय ४६ वटा भवनको पुनर्निर्माण भइसकेको छ ।

आयोजनाका निर्देशक रामशरण सापकोटाले बाँकी रहेका एक हजार ३ सय ७ वटा विद्यालय भवनको आउँदाे तीन महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताउँदै  पुनर्निर्माण कार्य पूर्ण भएको समेत घोषणा गर्नुभयो । उहाँले विद्यालय भवनका ४८ हजार ७ सय ११ कक्षाकोठा निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३५ हजार ५८ कक्षाकोठा निर्माण भइसकेको र अब १३ हजार ६ सय ५३ कक्षाकोठा निर्माणाधीन रहेको जानकारी दिनुभयो ।

पुनर्निर्माण गरिएका विद्यालयमा दुई हजार ७ सय ७ शौचालय र २ सय १६ खानेपानीका कार्य पनि सम्पन्न गरिएको छ । विद्यालय भवन पुनर्निर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख रुपियाँ आवश्यक पर्नेमा अहिलेसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपियाँ खर्च भइसकेको छ । 

एकाइका आयोजना उपनिर्देशक डा. युवराज पौडेलले जग्गाको उपलब्धता लगायतका कारण सबै विद्यालयलाई पुनर्निर्माणमा समेट्न नसकिएको बताउँदै भन्नुभयो, ‘छुटेका विद्यालयलाई आउँदाे वर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनर्निर्माणलाई अगाडि बढाउनुपर्दछ ।’

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया