साउदीमा दुर्घटनामा परेर होस गुमाएका बेदबहादुर साढे दुई वर्षपछि घर फर्किए

 वैशाख १०, २०७८ शुक्रबार ११:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साढे दुई वर्षदेखि साउदीमा रहेको नेपाली दूतावासको सेल्टरमा रहँदै आउनुभएका बेदबहादुर भुजेल हिजो नेपाल फर्किनुभएको छ ।

मोरङ हरैँचाका बेदबहादुर बिहीबार दिउँसो नेपाल फर्किनुभएकाे साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा एउटा कम्पनीमा काम गर्दागर्दै साढे दुई वर्ष पहिले बेद दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामा परेर तीन महिना अचेत अवस्थामा कोमामा रहनुभयो । ‘फ्यामिली केयर हस्पिटल’मा नियमित स्वास्थ्य उपचारपछि उहाँको स्वास्थ्यमा सुधार आयो । तर उपचार खर्च तिर्न नसक्दा उहाँविरुद्ध अस्पतालले मुद्दा हाल्यो । 

अवैधानिक हुँदा समस्या

साउदीमा रहेको नेपाली दूतावासका अनुसार लामो समयसम्म अस्पतालको बसाइ र उपचार गरेर बेदबहादुरको खर्च आठ लाख साउदी रियाल अर्थात् २ करोड ५० लाख बढी नेपाली रुपैयाँ उठेको थियो । तर उहाँ एउटा कम्पनी छोडेर अर्को कम्पनीमा काम गरिरहेको अवस्थामा दुर्घटना परेका कारण कसैले पनि उपचार खर्च तिर्ने जिम्मा लिएन ।

पछिल्लो समय साउदीले आफ्नो कानुनमा सुधार ल्याउँदै कामदारले सजिलै कम्पनी परिवर्तन गर्न पाउने नियम लगाए पनि त्यतिबेला यस्तो अवस्था थिएन । यसरी एक कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्नु त्यतिबेला अवैधानिक मानिन्थ्यो । उपचार खर्चको बिल कसैले तिर्न नमानेपछि अस्पतालले उहाँविरुद्ध मुद्दा दायर गरि नेपाली दूतावासको जिम्मा लगाएको थियो ।

साउदीको कानुनअनुसार कुनै पनि विदेशी नागरिकमाथि कुनै मुद्दा लागेको छ भने मुद्दा फर्छ्याैट नभएसम्म साउदी छोडेर जान पाइँदैन । त्यही भएर लामो समयसम्म बेदबहादुर दूतावासकै सेल्टरमा बस्नुभयो ।

दूतावासका अनुसार अस्पतालको बिल निकै ठूलो रकम भएको र उहाँ गैर कानुनी रुपमा रहनुभएको हुँदा त्यतिबेला रकम कसैले पनि तिर्ने अवस्था थिएन । तर बेदबहादुरलाई नेपाल पठाउने म्यानपावर कम्पनी र पहिले काम गर्ने कम्पनीसँग भनेर २५ २५ हजार साउदी रियाल बेहोर्ने गरि दूतावासले बेदबहादुरको तर्फबाट वकिल पनि राखिदिएको थियो । त्यति गर्दा पनि दुई वर्ष सम्म कुनै पनि कानुनी प्रगति भएन ।

दूतावासको अथक प्रयास

परदेशका आफ्नो नागरिक यसरी उपचार खर्च तिर्न नसकेर एक प्रकारको ‘बन्दी’ जस्तै भएर बसेको अवस्था थियो । दूतावासले बेदबहादुरलाई नेपाल पठाउन साउदीका धेरै सरकारी निकाय धाउने काम पनि गर्यो तर केही सम्भावना देखिएन । केही नलागेपछि अस्पतालसँगै कुरा गरेर बेदबहादुरको मुद्दा फिर्ता लगाउनुको विकल्प नदेखेपछि दूतावासले त्यही कदम अगाडि बढायो ।

‘अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटकपटकको भेटवार्ता र पत्राचारमार्फत भुजेल विरुद्धको मुद्दा फिर्ता लिएर नेपाल फर्काउन अनुरोध गर्यौं’, दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘अन्ततः दूतावासको अथक प्रयासको परिणामस्वरुप अस्पतालले गएको दुई हप्ताअघि अदालतमा रहेको भुजेलको मुद्दा फिर्ता लियो । त्यो सँगै बेदबहादुरलाई नेपाल पठाउने बाटो खुल्यो ।’

त्यति ठूलो रकम मिनाहा गरि बेदबहादुर विरुद्धको मुद्दा फिर्ता लिइ दिएकोमा साउदीमा रहेको नेपाली दूतावासले 'फ्यामिली केयर हस्पिटल' प्रति आभार व्यक्त गरेको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया