भूकम्पपछिका ६ वर्ष : निजी आवासमा ९३ प्रतिशत प्रगति

 वैशाख १०, २०७८ शुक्रबार १६:२९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भूकम्पपछिका ६ वर्षमा निजी आवासमा ९३ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार लाभग्राहीमध्ये घर निर्माण गर्नेहरुकाे सङ्ख्या ७ लाख ५३ हजार अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ ।

यसै आर्थिक वर्षभित्र निजी आवासको काम सम्पन्न गर्ने लक्ष्य रहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । भूकम्पपछि २ सय ९९ वटा असुरक्षित ठाउँमा रहेका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था भएको छ । त्यस्तै १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण बनेको प्राधिकरणको तथ्याङ्क छ ।

क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । अहिले २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् । धरहरा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । आउँदो साउन १ गतेदेखि २०७८ पुस १० गतेसम्म रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी संग्रहालयभित्रको रणोद्दिपको दरबार पुनर्निर्माणबाहेक सबै योजना तथा कार्यक्रमहरु सम्बन्धित मन्त्रालय वा निकायमा हस्तान्तरण गर्ने कार्ययोजना तयार भइसकेको प्राधिकरणले जनाएको छ ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पले क्षति गरेका आधारभूत संरचनाको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र र बाँकी रहेका कामहरु सम्बन्धित निकायलाई हस्तान्तरण योजना रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण देखा परेका जोखिमको व्यवस्थापन गरी पुनर्निर्माण तथा पुनस्र्थापनाका काममा सन्तोषजनक उपलब्धि हासिल गरेको पनि उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया