सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैलाई अनुमति

 वैशाख १०, २०७८ शुक्रबार १८:१२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै बीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका हुन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमति लिनेमध्ये ९० जना महिला छन् । यस अघि सन् २०१९ मा तीन सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।  

सगरमाथा आरोहीबाट यस वर्ष सरकारले ४७ करोड ७७ लाखभन्दा धेरै रोयल्टी संकलन गरेको छ । नेपालका अरु हिमाल आरोहणका लागि पनि उल्लेख्य आरोहीले अनुमति लिएका छन् । अहिलेसम्म १६ वटा हिमालका लागि ७९ समूहका ६ सय ८९ जनाले आरोहण अनुमति लिएका छन् । 

सगरमाथा चढ्न आलोपालो

सन् २०१९ मा सगरमाथा आरोहणका क्रममा अत्याधिक भीड भएर शिखर नजिकै ट्राफिक जाम भएको चर्चा विश्वभर भयो । चुचुरो नजिक जाम हुँदा आरोहीको ज्यान जोखिममा पर्ने आलोचना भएपछि यो वर्ष आरोहणका लागि आलोपालो गरेर व्यवस्थापन हुने भएको छ । पर्यटन विभागले सूचना निकालेर सन् २०२१ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा अनुमतिपत्र नम्बरका आधारमा आरोहण गर्ने व्यवस्था गरेको हो ।

सगरमाथाको शिखरसम्म बाटो बनाएपछि पहिलो अनुकूल मौसममा अनुमतिपत्र नम्बर ४० भन्दा तलका आरोही, दोस्रो अनुकूल मौसममा अनुमति नम्बर ४० देखी माथि ७२ भन्दा तलका र त्यसपछि अनुमति नम्बर ७२ भन्दा माथिका आरोहीलाई आरोहणको अनुमति दिने व्यवस्था पर्यटन विभागले गरेको छ । सगरमाथामा एक पटकमा एक सय ७० जना भन्दा बढी सङ्ख्या नबढ्ने गरी आलोपालोको व्यवस्था गरिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । 

आधार शिविरमा स्वास्थ्य शिविर

सगरमाथाको आधारशिविरमा पहिलो पटक सरकारी डाक्टर बसेर आरोही तथा उनीहरुका सहयोगीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् । यस वर्ष पर्यटन विभागले उपलब्ध गराएका दुई जना डाक्टर र हिमालय रेस्क्यू संघका एक जना डाक्टर गरी तीन जनाले सेवा दिइरहेका निर्देशक आचार्यले बताउनुभयो । उनीहरुले आरोहण मौसमभरि आधार शिविरमा रहेर आरोही तथा उनीहरुका सहयोगीलाई उपचार सेवा दिनेछन् । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया