त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाललाई : नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

 वैशाख ११, २०७८ शनिबार १६:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो । 

कीर्तिपुरमा मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७ ओभर २ बलमा ९६ रनमा समेटियो । नेपालका करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २/२ विकेट लिए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६ रनमा अविजित रहे । म्याक्स ओडाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए । 

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । भुर्तेलले डेब्यु शृङ्खलामा नै चार अर्धशतक बनाएका छन् । कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्याडस्सँगका तीन  खेलमा क्रमशः ७७, ६३ र ६२ तथा मलेसियासँगको दुईमध्ये एउटा खेलमा ६१ रन बनाएका हुन् । त्यस्तै आजको खेलमा कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै नटआउट रहे । मल्लले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका हुन् ।

दिपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाएर नटआउट रहे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । नेपालले यसअघि सन् २०१९ को साग गेममा भुटानसँगको खेलमा दुई सय ३६ रन बनाएको थियो ।
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया