१४ महिनापछि फेरि सुरु भयो माथिल्लो त्रिशूली 'थ्री बी' आयोजनाको काम, एक सय ४५ कामदार फिल्डमा

 वैशाख १३, २०७८ सोमबार १४:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना महामारीको चपेटामा परेको ३७ मेगावाटको माथिल्लो त्रिशूली 'थ्री बी' जलविद्युत् आयोजनाको काम फेरि सुरु भएको छ । नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो हप्ता आफ्नो घर गएका चिनियाँ कामदार कोरोना महामारीका कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्णरूपमा काम भइरहेको आयोजनाको निर्माण झण्डै १४ महिना ठप्प प्रायः थियो । 

ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत् गृह लगायतका संरचना निर्माणको कार्य गरिरहेको आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभयो । अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिक खटिएका छन् । 

‘नयाँ वर्ष मनाउन २०७६ को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारी कोभिड–१९ का कारण फर्कन नसक्दा झण्डै १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि सुरु भएको छ’, उहाँले भन्नुभयो, ‘चीनसँगका भन्सार नाकाहरू अझै पूर्णरूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्री ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको छैन, यसबाट धेरै प्रयास गरी फेरि निर्माण सुरु गरिएको आयोजनाको काम प्रभावित हुने देखिएको छ ।’ 

चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालय लगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले उल्लेख गर्नुभयो । 

नागरिककाे जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली 'थ्री बी' जलविद्युत् आयोजना फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको थियो ।कोभिड–१९ का कारण लगातार १४ महिना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम सुरु हुन नसकेकाले आयोजनाको निर्माण २०७९ चैतभित्रमा सक्ने लक्ष्य राखिएको छ । 

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ । आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ ।

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा नागरिककाे जलविद्युत् कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुन लगायतको २०/२० कित्ता शेयर छ । कम्पनीले सर्वसाधारणका ३७ लाख पाँच हजार कित्ता शेयर निष्कासन गर्दा प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री लगायतले पनि खरिद गर्नुभएको थियो । आयोजनाको ३ दशमलव ८ किलोमिटर मुख्य सुरुङमध्ये १ दशमलव ८ किलोमिटर खनिएको छ । विद्युत् गृहको पहिलो चरणको खन्ने र सपाेर्टकाे काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली 'थ्री ए' जलविद्युत् आयोजनाको क्यास्केड भएकाले त्रिशूली 'थ्री बी' ले बाँध, बालुवा थिग्र्‍याउने पाेखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन । 'थ्री ए' को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । 'थ्री ए' को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको छ । 

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहने छ । 

आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।आयोजनाको विद्युत् गृहबाट झन्डै तीन किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली 'थ्री बी' हब सब–स्टेशनमा पुर्‍याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया