दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन

 बैशाख १४, २०७८ मंगलबार १७:१८:५१ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएपछि दाङमा यही वैशाख १७ गते शुक्रवारदेखि नाै दिनसम्मका लागि लकडाउन गरिने भएको छ । मङ्गलवार घोराहीमा बसेकाे जिल्ला प्रशासन कार्यालयकाे बैठकले बैशाख १७ देखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो । 

दैनिक रूपमा कोरोना सङ्क्रमितकाे सङ्ख्या बढ्न थालेसँगै दाङमा तत्काल लकडाउन गरी नागरिककाे जीवन रक्षा गर्न चौतर्फी रूपमा आवाज उठ्दै आएको थियाे ।  

वैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजेसम्मका लागि पहिलो चरणकाे लकडाउन गर्ने निर्णय भएको हो । त्यसपछि अवस्था हेरेर थप निर्णय लिइने प्रशासन कार्यालयले जनाएकाे छ । खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म खुल्नेछ । 

यस्तै अत्यावश्यक सवारी साधनबाहेक अन्य गाडी सञ्चालनमा रोक लगाइएको छ । साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पताललाई ६५ शय्या र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय शय्याकाे बनाउने निर्णय गरेको छ । 

तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजनसहितको ४०/४० शय्या र प्रत्येक गाउँपालिकाले २० शय्या क्षमताको अक्सिजनसहितको आइसाेलेशन बनाउने निर्णय भएको छ । 

त्यसैगरी कोरोना सङ्क्रमितकाे उपचारमा खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया