अस्पताल जाने बाटाेमा स्थानीयवासीले तारबार लगाए, बिरामीलाई सास्ती

 बैशाख १६, २०७८ बिहिबार १२:५८:५६ | राजु लामिछाने
unn.prixa.net

स्थानीयवासीले बन्द गरेकाे मुख्य सडकदेखि मिसन अस्पताल जाने बाटो, फोटो : राजु लामिछाने/उज्यालो

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बितिसक्दा पनि बाटो खुलाउने प्रयास भएको छैन । अस्पताल जाने बाटोमा केही स्थानीयवासीले तारबार लगाएर बन्द गरेपछि एम्बुलेन्स तथा गाडीमा अस्पताल ल्याइने बिरामीहरूले सास्ती खेप्नु परेको छ । 

गएकाे चैत २६ गतेदेखि चौरजहारी बजारबाट अस्पताल जाने त्यस बाटो बन्द अवस्थामा छ । अस्पताल आउने मूल बाटो बन्द भएपछि बिरामी बोकेर आएका एम्बुलेन्स तथा गाडीहरू कि लामो बाटो घुमेर आउनुपर्ने कि त गाडीबाट झारेर–बोकेर अस्पतालभित्र ल्याउनुपर्ने अवस्था रहेको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो ।

आफ्नो घर तथा पसल पायक पर्ने ठाउँबाट बाटो नबनाएको भन्दै केही स्थानीयवासीले बाटो बन्द गरेको प्रमुख प्रशासक गिरीकाे भनाइ छ । ‘पहिले नयाँ बाटोको लागि जग्गा उपलब्ध गराउन उहाँहरू सहमत हुनुभएको हो’, उहाँले भन्नुभयो –‘अहिले आएर केही व्यक्तिले आफ्नो व्यापार व्यवसाय कम भएको भन्दै आफ्नो जग्गा भएर जाने बाटो बन्द गरेको अवस्था हो ।

लामो समयसम्म अस्पतालले मूल प्रवेशद्वारको टुङ्गो नलगाएको र चलनचल्तीमा रहेको गोरेटो बाटो बन्द गरेकाले निकासका लागि नयाँ बाटो बन्द गरेको स्थानीयवासीले बताएका छन् । पुरानो बाटो साँघुरो भएपछि नयाँ बाटो खोल्नु राम्रो भए पनि पुरानो बाटोलाई बन्द गरेर अस्पतालले स्थानीय व्यापार व्यवसायलाई बेवास्ता गरेको उनीहरूकाे आरोप छ । 

अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बित्दा पनि कहीँ कतैबाट बाटो खुलाउने प्रयास भएको छैन । यस विषयमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले तत्काल सम्बन्धित निकायसँग समन्वय गरेर बाटो सञ्चालन गरिने बताउनुभयो । यसअघि बाटो बन्द भएको जानकारी आफूलाई प्राप्त नभएको समेत उहाँले जनाउनुभयो । 

सुरुमा अस्पताल नजिकैको बजार क्षेत्रमा सानो बाटो चल्तीमा रहेको थियो । अस्पतालमा बिरामीको चाप बढेसँगै एम्बुलेन्स, गाडीसमेतको आवाजजावत बढेपछि स्थानीयवासीकै सहमतिको अर्को बाटो सञ्चालन गरिएको थियो । 

सडक ग्राभेल गर्ने बेला बन्द 

चौरजहारीको मूल सडकदेखि मिसन अस्पतालसम्मको झन्डै एक किलोमिटर यस सडक यसै वर्ष ग्राभेल गरिसक्ने चौरजहारी साना सहर आयोजनाको तयारी रहेको छ । तर स्थानीयवासीले नै बाटो अवराेध गरेपछि समयमै काम सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको छ ।

आयोजनाका प्रमुख धीर फडेराले असार मसान्तसम्म बाटो ग्राभेल गरिसक्ने बताउनुभयो । स्थानीयवासीको अवरोध कायमै रहेमा बाटो बन्द गरिएको ठाउँसम्म भए पनि ग्राभेल गरिसक्ने फडेराले जनाउनुभयो । स्थानीयस्तरमा छलफलको वातावरण भएमा बाटो खुल्ने विश्वास उहाँको रहेको छ । बाटो ग्राभेल गर्नलाई कार्यालयले क्याराभान कन्ट्रक्सन प्रालीसँग झन्डै ३२ लाख रुपैयाँ बजेटसहितको ठेक्का सम्झौता गरिसकेको छ ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया