रुकुम पूर्व : सरकारकाे निर्णय विपरीत विद्यालयमा परीक्षा सञ्चालन

 बैशाख १७, २०७८ शुक्रबार ११:९:५८ | राजु लामिछाने
unn.prixa.net

रुकुम - नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणदर बढिरहेको बेला विद्यार्थीहरुको स्वास्थ्यलाई बेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले विद्यालयहरुमा परीक्षा सञ्चालन गरिरहेकाे छ। 

नेपाल सरकार र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्देशनकाे अवज्ञा गर्दै सिस्ने गाउँपालिकाले पालिकाभरका १० ओटा विद्यालयमा कक्षा १० को ल्याकत परीक्षा सञ्चालन गरिरहेको छ। 

सिस्ने गाउँपालिकामा रहेका ९ वडा सामुदायिक र १ ओटा संस्थागत विद्यालयमा हिजोबाट कक्षा १० को परीक्षा सुरु भएकाे सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

सरकारले तोकेकाे स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उहाँकाे दाबी छ । कक्षा १ देखि ९ सम्मको परीक्षा आउँदाे २२ गतेदेखि सुरु गरिने निर्णय भएकाे शिक्षा शाखा प्रमुख बुढाले बताउनु भयाे।  

परीक्षा दिन आएका विद्यार्थीहरुले उपस्थित नभएमा फेल भइने डरले बाध्य भएर परीक्षा दिन जानु परेको प्रतिक्रिया दिएका छन् ।

सबैतिरका विद्यालय र परीक्षाका कार्यक्रमहरु स्थगित भएको बेला स्थानीय सरकारले विद्यार्थीको स्वास्थ्य अवस्थाको जोखिमलाई बेवास्ता गरेको उनीहरुकाे गुनासाे छ । 

डीसीसीएमसीले कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा पठनपाठन र परीक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।  

केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी राईले गाउँपालिकाहरुलाई पटक-पटक अनुरोध गर्दा पनि निर्णयको नमानेको बताउनु भएकाे छ ।

आजैबाट कोरोना परीक्षणको कार्यलाई तीव्र पार्ने र सङ्क्रमित भेटिएमा स्थानीय प्रशासन ऐनकाे आधारमा रहेर विद्यालय बन्द गराउने उहाँले बताउनुभयो । यहाँकाे भूमे गाउँपालिकाले पनि आउँदाे १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ  भने पुथाउत्तरगंगा गाउँपालिकाले वैशाखको २० गतेबाट वार्षिक परिक्षा सञ्चालन गर्ने तयारी गरिरहेकाे छ। 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया