चितवनलाई दुई–शून्यले हराउँदै विराटनगर सुपर लिगकाे शीर्षस्थानमा

 बैशाख २०, २०७८ सोमबार २०:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनगर सिटी फुटबल क्लब राजधानीमा चलिरहेकाे नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा भएकाे खेलमा विराटनगर सिटीले चितवनमाथि दुई–शून्यको जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्रामक खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थिए । त्यसपछि ८९ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । १० मिनेट इन्ज्युरी समयमा चितवन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

पहिलो हाफमा विराटनगरलाई दबाबमा राखेको चितवनले केही राम्रा अवसर पाएको थियो । तर चितवनको अग्रपङ्क्तिले अवसरलाई सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा भने विराटनगर हावी हुँदै चितवनलाई दबाब दिएर खेल पस्किँदा जित निकाल्न सफल भएको थियो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको विराटनगरले चार खेलबाट सात अङ्क जोडेको छ । गोल अन्तरका आधारमा विराटनगरले धनगढी फुटबल क्लबलाई पछि पार्दै शीर्ष स्थान कायम गरेको हो । उता अङ्क गुमाएको चितवनले चार खेलबाट मात्र दुई अङ्क जोडेको छ । दुई खेलमा बराबरी र दुई खेलमा अङ्क गुमाएको चितवनले जारी लिगमा जितविहीन छ । यस्तै ललितपुर सिटी पनि लिगमा जितविहीन टोली हो ।

प्रतियोगितामा मङ्गलवार बुटवल लुम्बिनी फुटबल क्लब र काठमाण्डाै रेजर्सबीच खेल हुनेछ । बुटवलले तीन खेलबाट पाँच अङ्क जोडेको छ भने काठमाण्डाै रेजर्सको समान तीन खेलबाट चार अङ्क छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया