चौरजहारी नगरपालिकाले पीसीआर परीक्षणबापतको डेढ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी

 बैशाख २०, २०७८ सोमबार २०:४७:३० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – चाैरजहारी नगरपालिकाले सञ्चालन गरेको आरटी/पीसीआर परीक्षण प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाब परीक्षण गराएका विभिन्न पालिकाले परीक्षणबापतको शुल्क दिएका छैनन् । परीक्षणका लागि स्वाब पठाएका रुकुम पश्चिम र छिमेकी जिल्ला सल्यान, जाजरकोट र रुकुम पूर्वका पालिकाले एक करोड ६१ लाख ७२ हजार रुपैयाँ चौरजहारी नगरपालिकालाई दिन बाँकी रहेको चौरजहारी नगरपालिकाले जनाएको छ ।  

चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले अप्ठ्यारो बेलामा गरेको कामलाई अन्य सरकारले समेत साथ नदिएको बताउनुभयो । महामारीका बेला नागरिककाे स्वास्थ्य जाँचलाई आफूले प्राथमिकतामा राखेर काम गरेको तर अगाडि बढ्नलाई काँध नथाप्ने अन्य सरकारका कारण हानी भएको उहाँले गुनासाे गर्नुभयाे ।

गएकाे वर्ष कोरोना परीक्षणको शुल्क दिन्छौँ भनेपछि नगरपालिकाको खर्चमा परीक्षण गरिएको तर अहिलेसम्म पनि भुक्तानी नपाइएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । जिल्ला–कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकमा पीसीआर परीक्षणको रकम सबै पालिकाले साझेदारी गर्ने निर्णय भएको बताउँदै अधिकृत केसीले त्यही निर्णयअनुसार रकम उपलब्ध गराइदिन सम्बन्धित पालिकालाई पत्राचार गरि पनि अहिलेसम्म कुनै वास्ता नगरेको उहाँकाे भनाइ छ । तत्कालिन अवस्थामा सरकारले पीसीआर परीक्षणको लागि प्रति व्यक्ति दुई हजार रुपैयाँ तोकेको र चौरजहारी नगरपालिकाबाहेकका अन्य १४ पालिकाबाट त्यही दरमा रकम माग गरिएको अधिकृत केसीले बताउनुभयो । 

आरटी/पीसीआर परीक्षण प्रयोगशाला चौरजहारीमा गएकाे वर्षको असार अन्तिम हप्तादेखि पुस मसान्तसम्म प्रयोशालामा १० हजार पाँच सय ९४ जनाको स्वाब परीक्षण गरेकाे थियो । जसमध्ये चौरजहारी नगरपालिकाका मात्र दुई हजार पाँच सय आठ वटा थियाे भने अन्य पालिकाका आठ हजार ८६ स्वाब परीक्षण भएको थियो । चौरजहारी नगरपालिकाबाहेकका अन्य पालिकाकाे स्वाब परीक्षण शुल्क प्रति स्वाब दुई हजारका दरले एक करोड ६१ लाख ७२ हजार रुपैयाँ हुन आउँछ । योबाहेक फेरि परीक्षण गरिएका सङ्ख्या पनि धेरै छ ।

चौरजहारी नगरपालिकाबाहेक रुकुम पश्चिमका पाँच, जाजरकोटका पाँच, सल्यानका तीन र रुकुम पूर्वका एक पालिकाबाट पीसीआर परीक्षणको शुल्क उठाउन बाँकी छ । चौरजहारी नगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार पीसीआर परीक्षण गराएकाहरूमा रुकुम पश्चिमकै मुसिकोट नगरपालिकाका एक हजार एक सय ५४, आठबीसकोट नगरपालिकाका एक हजार चार सय २०, सानीभेरी गाउँपालिकाका एक हजार १७, त्रिवेणी गाउँपालिकाका आठ सय चार, बाँफिकोट गाउँपालिकाका पाँच सय ३८ जना रहेका छन् । 

त्यसैगरी जाजरकोटको भेरी नगरपालिकाका एक हजार दुई सय २२, शिवालय गाउँपालिकाका सात, छेडागाड नगरपालिकाका तीन सय ६२, जुँनिचाँदे गाउँपालिकाका सात सय ६ र नलगाड नगरपालिकाका सात जनाकाे पीसीआर परीक्षण गरिएको थियो । सल्यानको कुमाख गाउँपालिकाका तीन सय दुई, सिद्धकुमाख गाउँपालिकाका २३ र दार्मा गाउँपालिकाका पाँच सय २३ जनाको पीसीआर परीक्षण गरिएको थियो भने रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनाको पीसीआर परीक्षण चौरजहारी प्रयोगशालामा गरिएको थियो । परीक्षण गरिएकामध्ये दुई सय ७३ को रिपोर्ट पोजेटिभ देखिएको थियो । 
चौरजहारी नगरपालिकाले सञ्चालन गरेको आरटी/पीसीआर परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गरेर शुल्क उठाउन बाँकी रहेका पालिकाकाे विवरण निम्नानुसार छ–    

स्राेत : चौरजहारी नगरपालिका, रुकुम पश्चिम   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया