आप्रवासी श्रमिक एक हौँ, आफ्नो समस्या आफैं उठाऔँ

 बैशाख २१, २०७८ मंगलबार १३:३३:४२ | कौसल्या कुसहवा
unn.prixa.net

अहिले वैदेशिक रोजगारी घरघरको आम्दानीको स्रोत हो । जो वैदेशिक रोजगारका लागि जानुभएको छ उहाँ र उहाँहरुकोे घर परिवारको हक अधिकारका लागि धनुषामा आप्रवासी कामदार हकसहित संरक्षण केन्द्र छ ।

वैदेशिक रोजगारीमा जानेहरूका विभिन्न समस्याहरू छन् । कोही देशमै समस्यामा पर्छन् त कोही विदेशमा पुगेपछि । तर त्यो समस्या सुनिदिने निकै कम छन् । विदेशमा गएपछि यो हुन्छ त्यो हुन्छ भन्दै ठुलो ठुलो सपना देखाइदिन्छन् तर उता विदेशमा पुगेपछि त्यो हुँदैन । भनेको काम हुँदैन, तलब र सेवा सुविधा पनि प्राप्त गर्न मुस्किल पर्छ । कतिलाई विदेशको सपना देखाएर देशै ठगी भइरहेको हुन्छ ।

 पैसामा मात्रै हैन विभिन्न ठाउँमा विभिन्न किसिमको ठगीहरु भइरहेको हुन्छ । तर त्यो समस्या कहाँ गएर राख्ने ? राखिहाले पनि एउटा सामान्य श्रमिकको आवाज कसले सुन्ने ? त्यसैले यस्ता सबै श्रमिक र श्रमिकका परिवार आफैँ एक भएका हौँ । यस्ता समस्या सम्बन्धित निकायसम्म पुर्‍याउन र समाधान गर्नका लागि नै सङ्गठनको जन्म भएको हो ।

धनुषा वैदेशिक रोजगारीमा धेरै युवाहरू जाने जिल्ला हो । यहाँ समस्या पनि अनेकन् छन् । वैदेशिक रोजगारीमा युवाले बगाएको रगत पसिनाले यहाँ देशको आधा अर्थतन्त्र चलिरहेको छ । तर उनीहरू नै अल्पमतमा छन् । त्यसैले आप्रवासीको आवाज बुलन्द गर्नका लागि, श्रमिकका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउनकै लागि हामी आफैं एक भएका हौँ । 

तथ्याङ्क हेर्ने हो भने विगतका वर्षदेखि नै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सबैभन्दा धेरै धनुषाबाट छ । यसलाई हामी खुसीको रूपमा लिँदैनौँ । दुःखको रूपमा लिन्छौँ । किनकि हाम्रो युवाहरूलाई देशभित्रै रोजगारी सृजना गर्न सकिएन ।

धेरैले बाध्यताले नै हो वैदेशिक रोजगारी रोज्नुभएको । वैदेशिक रोजगारी पनि सुरक्षित कहाँ छ र ? ठाउँ ठाउँमा ठगी छ । म्यानपावरबाट भइरहेका ठगी पनि रोकिएको छैन । विभिन्न उपाय अपनाएर एजेण्ट र बिचौलियाले ठगी गरिरहेकै छन् । 

नेपाल सरकारले एजेण्ट खारेज गरिसकेको छ । तर अहिले पनि बिचौलियाहरू उत्तिकै छन् । उनीहरूले ठगीको विभिन्न उपायहरू खोजिरहेका हुन्छन् । अहिले महामारीकै समयमा पनि भिजिट भिसामा रोजगारीका लागि पठाउने, राम्रो काम लगाइदिन्छु भन्दै ठगी भइरहेको छ ।

जनकपुरकै केही युवा भिजिट भिसामा यूएई पुगेर अलपत्र परिरहेका छन् । म स्वयं र संठगनका विभिन्न पदाधिकारीले एजेण्टसँग कुरागर्नुभयो । हामीले उनलाई भनेका छौँ कि गलत गर्नेलाई सङ्गठनले छाड्दैन । वैदेशिक रोजगारी भनेपछि हरेकले सपना पालेको हुन्छ ।

तर कतिको पूरा हुन्छ कतिको हुँदैन । कतिपय अङ्गभङ्ग भएर फर्किएका छन् त कतिपय मृत्यु नै भएर बाकसमा प्याक भएर पनि फर्कन परेको छ । कमाउन गएको मानिस नै अङ्गभङ्ग भएर स्वदेश फर्कँदा उसलाई जीवन जिउन नै कठिन भएको उदाहरणहरू पनि छन् । 

धनुषाका विभिन्न ठाउँमा भएका समस्याहरू सङ्गठनका साथीहरूबाट आप्रवासी स्रोत केन्द्रसम्म आउँछ र त्यो समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न सम्बन्धित निकायहरूमा समन्वयको काम हुन्छ । 

विदेशमा ज्यान गुमाउनेका परिवारलाई पनि कहाँ सजिलो छ र । शव ल्याउनै पनि कठिन भएको अवस्था छ भने कमाउने घरको मुख्य मानिस नै बित्दा बिचल्ली भएका पनि उदाहरणहरू छन् । हामीले हाम्रै आँखा अघिल्तिर देखेका छौँ । आर्थिक समस्या, मानसिक समस्या, विभिन्न समस्याहरू हुन्छन् । कतिपयको त वैदेशिक रोजगारीकै कारण परिवार नै तहसनहस पनि भएका छन् । 

अर्काे समस्या भनेको अहिले कोरोना महामारीको कारण पनि वैदेशिक रोजगारीमै रहेका र घर फर्किएकाहरूमा पनि समस्या देखिएको छ । देशमै केही गरौंभन्दा न साथमा पैसा छ न जागिर पाउने अवस्था । 

यस्ता विविध समस्याले जकेटिएको यो वैदेशिक रोजगारीको क्षेत्रमा आप्रवासी श्रमिक र परिवारको हकहितका लागि हामीले सुरक्षित आप्रवासन परियोजना सामीसँग समन्वय गरेर पनि काम गरिरहेका छौँ । जिल्ला प्रशासन कार्यालय भित्रै आप्रवासी स्रोत केन्द्र छ । सामी परियोजना र संठगनको नङ मासुकै सम्बन्ध छ । जो वैदेशिक रोजगारीमा जाने तयारीमा छन् उसले सही सूचना लिएर जाओस् भनेर हामी आप्रवासी स्रोत केन्द्रसम्म पुर्‍याउने काम गर्छौँ । 

अहिले त प्रमुख जिल्ला अधिकारीलाई पनि वैदेशिक रोजगारीका उजुरीहरू हेर्ने अधिकार दिइएको छ । धनुषाका विभिन्न ठाउँमा भएका समस्याहरू सङ्गठनका साथीहरूबाट आप्रवासी स्रोत केन्द्रसम्म आउँछ र त्यो समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न सम्बन्धित निकायहरूमा समन्वयको काम हुन्छ । 

सङ्गठनबाट सिधै पनि प्रमुख जिल्ला अधिकारीदेखि प्रहरीका साथै प्रदेश स्तरमा पनि समस्या समाधानका लागि समन्वय र पहलको काम गर्छौँ । प्रहरी र प्रमुख जिल्ला अधिकारीबाट हामीले राम्रो सहयोग र समन्वय पाइरहेको छौँ । धेरै समस्याहरू सिडिओ र प्रहरीसँग समन्वय गरेर समाधान गर्न सकिरहेका छौँ ।

विदेशबाट फर्किएकाहरूलाई पालिका स्तरमै उपलब्ध प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनाहरूमा जोड्न समन्वयको काम गर्‍यौं ।

हामीले सङ्गठन विस्तार गर्दा नै यो तपाईँहरूको लागि नै हो है भनेर बुझाउँदै हल्लाखल्ला गर्दै  नै गरेका हौँ । त्यसैले पनि धनुषामा अहिले धेरैलाई हाम्रो पनि सङ्गठन छ है भन्ने जानकारी भएको अवस्था छ ।

कतिपय केशहरू यस्ता पनि हुन्छन् कि ठगी गरेको हो , ठगी गर्ने मानिसलाई समातेर कारबाहीका लागि विभागमा पटाउँछौँ पनि । तर कारबाही हुँदैन । छुटिहाल्छन् । यो चाहिँ किन भइरहेको छ भनेर हामीले पनि बुझ्न सकिरहेका छैनौँ । तर सकेसम्म हामी पीडकलाई छोड्दैनौँ । कसैले पनि कसैलाई प्रलोभनमा पारेर ठग्न पाउँदैन । 

जुन बेला महामारी सुरु भयो त्यो बेला हल्लाखल्ला मच्चिरहेको थियो कि यति खाल आप्रवासीहरू चाहिँ स्वदेश फर्कदै छन् भनेर । त्यो बेला नै कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्‍यौं । पालिकासँग ‘लबिङ’ पनि गर्‍र्यौं । पालिका स्तरमै के रोजगारी हुनसक्छ सीपको आधारमा हामीले ‘लबिङ’ गर्‍यौ ।

विदेशबाट फर्किएकाहरूलाई पालिका स्तरमै उपलब्ध प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनाहरूमा जोड्न समन्वयको काम गर्‍यौं ।

आप्रवासीहरूको समस्या समाधानका लागि हामीले विभिन्न समयमा सम्बन्धित निकायमा विभिन्न मागहरू राखेका छौँ । मलाई याद छ अहिलेसम्म हामीले ६ पटक ज्ञापन पत्र बुझाएका छौँ । पहिलो पटक हामीले २८ बुद्धे माग राखेका थियौँ त्यो २०७२ साल जेठ १ मा हो । जति बेला हामीले सङ्गठन स्थापना गरेका थियौँ ।

त्यसपछि विभिन्न समयमा १६ बुद्धे १८ बुद्धे  मागहरूसहित ज्ञापन पत्र बुझायौँ । त्यसपछि कोरोना महामारीको बेलामा पनि हाम्रो नेपालीलाई सुरक्षित स्वदेश फिर्तीको व्यवस्थाको माग गर्दै हामीले माग राखेका थियौँ । सुरुमा जति बेला हामीले २८ बुद्धे माग राखेको थियौँ अहिलेसम्म १४ वटा त पूरा भइसकेको छ । त्यो हाम्रो लागि राम्रो उपलब्धि हो ।

सरकारलाई सधैं गाली मात्र होइन राम्रो कुराहरू सुनिदिनुभएको हामी धन्यवाद पनि दिन चाहन्छौँ । तर अझैँ थुप्रै कुराहरू सुन्न र गर्न बाँकी छ । संविधानमै व्यवस्था छ कि वैदेशिक रोजगारलाई शोषणमुक्त बनाउने त्यो कुरा चाहिँ व्यवहारमा छिट्टै कार्यान्वयन होस् ।

एक जनाले बोलेको सुनिँदैन

सबै जनालाई थाहा छ कि एक जनाले बोलेको कुरा सुनिँदैन । तर त्यही कुरो धेरैले बोल्दा त्यसको छुट्टै असर हुन्छ । सङ्गठन भयो भने आफ्नो आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन सहज हुन्छ । त्यसैले म मेरो परिवार अर्थात् जति पनि आप्रवासीहरू हुनुहुन्छ उहाँहरूलाई भन्न चाहन्छु किनकि जति पनि रोजगारीका लागि जानुभएको छ हामी सबै एक परिवार हौँ ।

 विदेशमा वा देशमा केही समस्या परेको छ भने हामीलाई सम्झनुहोस् । हामी तपाईँको परिवार हौँ । नआत्तिनुहोस् । यो अप्ठेरो परिस्थितिमा देशमा भए पनि विदेशमा भएर पनि सुरक्षित भएर काम गर्नुहोस् ।

जो वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ उहाँहरूलाई सबैभन्दा पहिला त आफ्नै देशमा अवसरहरू खोज्नुहोस् भन्न चाहन्छु । विदेशमा गर्ने मेहनत यही गर्नुहोस् तपाईँको साथमा हामी पनि छौँ ।

जानुहुन्छ भने पनि सीप सिकेर सही सूचना र जानकारी लिएर मात्र जानुहोस् । अहिले भिजिट भिसाको नाममा ठगी भइरहेको छ तपाईँहरू बच्नुहोस् । भिजिट भिसामा रोजगारीमा जान मिल्दैन यो सरासर ठगी हो ।

 विदेशमा वा देशमा केही समस्या परेको छ भने हामीलाई सम्झनुहोस् । हामी तपाईँको परिवार हौँ । नआत्तिनुहोस् । यो अप्ठेरो परिस्थितिमा देशमा भए पनि विदेशमा भएर पनि सुरक्षित भएर काम गर्नुहोस् ।

मानिसले भगवानलाई जय भन्छन् तर हामी जय आप्रवासी भन्छौँ । किनकि अहिले देश र घर चलाउने ती आप्रवासीहरू भगवान् हुन् । तर उनीहरूलाई कसैले पनि जय भन्दैनन् बरु हेयका दृष्टिले हेरिन्छ । त्यसैले पनि हामी जय आप्रवासी भन्छौँ ।

अर्काको देशमा गएर पनि कमाएर राम्रोसँग सकुशल आरामले घर फर्कियोस् भनेर नै हामी जय आप्रवासी भन्छौँ ।  अब आप्रवासीहरू एक्ला छैनन् । यहाँ हामी एक भएका छौँ र एक भएर नै हामीले श्रमिकको समस्या समाधानमा काम गरिरहेका छौँ ।

(आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, धनुषाकी जिल्ला अध्यक्ष कौसल्या कुसहवासँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख ६, २०८१

कौसल्या कुसहवा

कुसहवाआप्रवासी कामदार हकहित संरक्षण केन्द्र, धनुषाकाे जिल्ला अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया