काठमाण्डौलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग फुटबलको फाइनलमा

 बैशाख २८, २०७८ मंगलबार २०:१६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको  हो ।

निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर  एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्‍याए । 

खेलमा काठमाण्डौले पर्याप्त दबाब बनाए पनि जित्न भने सकेन । आजको जितसँगै धनगढीले समूह चरणमा काठमाण्डौसँग हारेको बदला पनि लिएको छ ।

आज पराजित भएको काठमाण्डौको अझै फाइनल पुग्ने सम्भावना छ । काठमाण्डौले अब बुटबल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही एक लाख रुपैयाँ पाउने छन् ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया