तिब्बतको मुख ताक्नुपर्ने बाध्यता हट्यो

 बैशाख ३१, २०७८ शुक्रबार १३:४६:३२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङका हिमाली पर्यटकीय गाउँहरु ओलाङचुङगोला, याङ्माका बासिन्दा सयौं वर्षदेखि तिब्बतको भर पर्दै आएका थिए । तिब्बतको रिउमा गएर खाद्य सामग्रीहरु ल्याउन बाध्य स्थानीय अहिले भने ताप्लेजुङको सदरमुकामतिर जाने गर्छन् । त्यहीँबाट ल्याउँछन् खाद्य सामग्री ।

अहिले विराटनगरको रानीबाट ताप्लेजुङ ओलाङचुङगोला हुँदै चीनको सिमाना टिप्ताला भन्ज्याङ जोड्ने सडक बनेको छ । भारत र चीनलाई जोड्ने यो नेपालकै छोटो सडक हो । सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला हुँदै द्विदेशीय सिमाना टिप्ताला भञ्ज्याङ जोड्ने सडक इलाडाँडा पुगेकाले पनि खाध्य सामाग्री ढुवानी गर्न स्थानीयलाई सहज भएको छ ।

अर्काको देशबाट खाध्य सामाग्री ल्याएर खानुपर्ने बाध्यता थियो । अहिले आफ्नै जिल्ला सदरमुकामबाट ल्याएर प्रयोग गर्न पाउँदा ‘स्वाभिमानी’ महसुस भएको स्थानीय बताउँछन् ।

चीन र नेपालको सीमावर्ती पर्यटकीय गाउँ फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाबाट चीनको तिब्बत जाने नाका कोरोना संक्रमणका कारण बन्द छ । तर अहिले सदरमुकाममै सडक सञ्जाल जोडिएपछि स्थानीय दंग छन् ।

तर जिल्ला सदरमुकामबाट सामान ल्याउँदा महंगो पर्ने स्थानीयको गुनासो छ । यस क्षेत्रमा धेरैले चौंरी पाल्छन् । चौंरीलाई खुवाउनको लागि धेरै नुन चाहन्छि । तर चौंरी तथा गाई भैंसीलाई खुवाउने सामाग्रीहरु ल्याउन तिब्बतको भन्दा सदरमुकामबाट निकै महंगो पर्ने स्थानीय बताउँछन् । 

२०७७ चैत १६ गते गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी ताप्लेजुङ टिप्ताला, संखुवासभाको किमाथाङ्का र मुस्ताङको कोरला नाका हुँदै चीनबाट सहायता सामग्री ल्याउनका लागि अस्थायी रूपमा खोलेको जानकारी दिएको थियो । तर अहिले सम्म पनि नाका खोलिएको छैन ।

‘तिब्बत जान अहिले पनि सबै नाका सिल गरिएका छन्, त्यसैले पनि उताबाट सामान आएको छैन’, फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे  भन्नुहुन्छ, ‘नेपाल सरकारले खुल्ला गर्ने भने पनि चीन सरकाले खोल्न मानिरहेको छैन, दुई वर्षदेखि नाका बन्द छन् ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया