आठ वर्षमा ५ हजार ८३२ नेपाली बाकसमा फर्किए, अब स्वदेशमै रोजगारी सरकारको प्राथमिकता

 भदौ ८, २०७५ शुक्रबार १४:३६:५२ | सन्जिता देवकोटा

काठमाडौं – २०७२ सालको वैशाखमा नेपाली सेनाको जागिर छाडेर मलेसिया गएका सिन्धुपाल्चोकका प्रकाश घलेको २०७४ चैतको २४ गते उतै सास गयो । प्रकाश जाँदा गर्भमा रहेकी छोरी बुवाको मलामी बनिन् । २१ वर्षीया श्रीमतीको सहारा गुम्यो । 

सेनाको जागिरले घर चलाउन मुश्किल पर्यो भन्दै प्रकाश विदेश उडेका थिए । विदेश उड्नुअघि उनले श्रीमतीलाई भनेका थिए, ‘मलेसियाबाट धेरै कमाएर ल्याउँछु, अनि सुखले जिन्दगी कटाउँला ।’ 

तर धेरै पैसा बोकेर फर्कन्छु भन्दै मलेसिया गएका प्रकाश बाकसमा फर्किए । कमाउन गएका श्रीमान् कहिल्यै नफर्किने बाटो लागेपछि श्रीमती उर्मिलालाई अब घर कसरी चलाउन सकिएला भन्ने पिरले सधैं अत्यास लागिरहन्छ ।

प्रकाशजस्तै वैदेशिक रोजगारीको क्रममा बिभिन्न देश पुगेका कतिपय नेपाली यसैगरी बाकसमा फर्किन्छन् । सरकारको तथ्याँकअनुसार वैदेशिक रोजगारीमा गएकामध्ये वितेको आठ वर्षमा ५ हजार ८ सय ३२ नेपाली बाकसमा फर्किए । कामको सिलसिलामा ७ सय ८७ जना अंगभंग भए । 

बाकसमा फर्किनेले त परिवारका दुःख फेरि देख्न परेन । तर अंगभंग वा बिरामी भएर फर्किनेहरुले साँचेका सपनालाई थाती राख्दै जिन्दगीभर पीडा भोग्नुपर्छ । 

मृत्यु हुनेको संख्या मलेसियामा धेरै

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गएको वर्ष मात्रै एक लाख भन्दा धेरै यूवा रोजगारीका लागि मलेसिया गएका छन् । ज्यान गुमाउने र समस्यामा पर्ने नेपालीको संख्या पनि मलेसियामै सबैभन्दा धेरै छ । 

आर्थिक वर्ष २०६७/०६८ देखि २०७४/०७५ सम्ममा मलेसियामा मात्रै २१ सय ५२ जना नेपालीको ज्यान गएको छ भने ३ सय ७३ जना अंगभंग वा बिरामी भएर फर्किएका छन् ।

मलेसियापछि साउदी अरेबियामा ज्यान गुमाउने र समस्यामा पर्ने नेपालीको संख्या धेरै छ ।  साउदीमा १६ सय ३७ जना नेपालीको ज्यान गएको छ भने एकसय ७३ जना नेपाली अंगभंग वा बिरामी भएर फर्किएका छन् । 

गएको ८ वर्षमा रोजगारीका लागि कतार गएका ११ सय ९९  जना नेपाली कामदारको ज्यान गएको छ भने एक सय ३२ जना अंगभंग वा बिरामी भएर फर्किएका छन् । 

कतारपछि विदेशमा ज्यान गुमाउने नेपालीको संख्याको सूचीमा युएई आउँछ । यस अवधिमा युएईमा ४ सय ८५ कामदारको ज्यान गएको छ भने ७८ जना अंगभंग वा बिरामी भएर फर्किएका छन् ।

त्यसैगरी कुवेतमा १ सय ८६ जना नेपालीले ज्यान गुमाएका छन् भने ३१ जना कामदार अंगभंग वा बिरामी भएर फर्किएका छन् । बहराइनमा ७७, दक्षिण कोरियामा ७४, लेवनान २० र श्रीलंकमा २ जना नेपालीले ज्यान गुमाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डल जनाएको छ । 

वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने ?

वितेको ८ वर्षमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पहलमा २ सय ६ जना कामदारको शव गन्तव्य देशबाट झिकाइएको छ । एक हजार तीन जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्म पुर्‍याइएको छ । बिरामी भएर फर्किएका ५९ जनालाई उपचार सहायता दिइएको बोर्डले जनाएको छ । 

यो तथ्याँकले वैदेशिक रोजगारीमा जाने कति असुरक्षित छन् भन्ने प्रष्ट पार्छ । एक त थोरै पैसा कमाउनको लागि विदेश जानुपर्ने बाध्यता, अनि सम्बन्धित देश र कामको बारेमा पहिल्यै नबुझ्नाले पनि नेपालीहरु असुरक्षित हुने गरेका छन् ।

यस्तो अवस्थाको अन्त्यको लागि सरकारले सकेसम्म वैदेशिक रोजगारीमा जान नपर्ने वातावरण बनाउने र जानेहरुका लागि पनि सुरक्षित उपाय अपनाउने रणनीति बनाएको छ ।

रोजगारीका लागि विदेश पुगेका कामदारको शव झिकाउनुभन्दा पनि स्वदेशमै रोजगारीका अवसरहरु सृजना गरेर मृत्युदरलाई घटाउन सरकार लाग्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि विदेशमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । वैदेशिक रोजगारी सरकारको प्राथमिकता नभएको भन्दै उहाँले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने र ३०/४० हजार रुपैयाँ कमाउन खाडीका देश र मलेसिया गएर ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । 

नेपाली युवाको सीप र क्षमता नेपालकै विकासमा प्रयोग गर्ने र काम गर्ने वातावरण नेपालमै बनाउनकै लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याइएको पनि मन्त्री विष्टले बताउनुभयो । 

वैदेशिक रोजगारीमा जान चाहने नेपालीको स्वास्थ्य परीक्षणमा सिन्डिकेटको अभ्यास हटाउन स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा स्वास्थ्य परीक्षणको लागि अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाउने सरकारले तयारी थालिसकेको छ । विदेश जानुअघि स्वास्थ्य परीक्षणमा हेलचेक्राईं गर्दा पनि धेरै नेपालीको विदेशमा ज्यान जाने गरेको छ । 

तालिम दिएर मात्रै विदेश पठाउने

सरकारले अबदेखि युवालाई वैदेशिक रोजगारीको सट्दा देशभित्रै काम गर्ने वातावरण बनाउने योजना त बनाएको छ । तर छिटै वैदेशिक रोजगारीमा जाने क्रमको अन्त्य हुने संकेत देखिंदैन । त्यसैले अब तालिम लिएका कामदारलाई मात्र विदेश पठाउने सरकारको योजना छ । 

विदेश जानुअघि दिइने अभिमुखिकरण तालिम पर्याप्त नहुँदा पनि नेपालीले ज्यान गुमाउनु परेको सरोकारवालाको भनाई छ । सीप सिकेर जाँदा आफूले गर्ने कामको बारेमा जानकारी हुने भएकाले कार्यस्थलमा दुर्घटना हुने सम्भावना कम हुन्छ । 

तालिमको व्यवस्था सरकारले नै गर्ने र सीप नभएका कामदारलाई विदेश नपठाउने श्रम मन्त्री विष्टले बताउनुभयो । घरेलु कामदारका लागि जान चाहनेहरुका लागि अन्तर्राष्ट्रियस्तरको घरेलु कामदार पठ्यक्रम लागू गरिएको र २१ दिनको तालिमलाई ३५ दिनको बनाइएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । 

त्यस्तै अन्तर्राष्ट्रियस्तरको ‘केयर गिभर’ तालिम पाठ्यक्रम लागू गरिएको र एक महिनाको तालिमलाई तीन महिनाको बनाइएको पनि उहाँले बताउनुभयो । 

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादितसँगै सुरक्षित बनाउन संशोधित नीति तथा गठन भएका विभिन्न कार्यदलबाट प्राप्त सुझावका आधारमा पाँच वर्षे योजना बनाउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तयारी छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

2 Comments

  • शम्भु

    Aug. 24, 2018, 10:46 p.m.

    यसमा हामी सबै सहमतछौं

  •  0 Reply
  • Ajad Laheri

    Aug. 24, 2018, 6:27 p.m.

    golbazar jilla siraha

  •  0 Reply

तपाईको प्रतिक्रिया