के गर्ने अब ? : ओली सम्झने पानी छम्कने !

 जेठ १, २०७८ शनिबार ८:५८:२३ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डौको धारामा मेलम्चीको पानी खसालेपछि ओली आफू पहिले बगेको संविधानको धारा बन्द गरेर अर्को धाराबाट बग्न थाले । अर्को धाराबाट अर्कै रङ र स्वादको पानी खसाल्ने देउवा, प्रचण्ड र बाबुराम–उपेन्द्रको दाउ थियो । तर, त्यो दाउमा महन्थ र माधबले घाउ बनाएपछि फेरि अर्को धारा खुल्यो, तर त्यो धाराबाट खस्ने ओली स्वादकै पानी अलि अमिलो र नुनिलो भयो सबैका लागि ।

हुँदा हुँदा माधब नेपालका लागि पनि यो धाराको पानी बेस्वादको भयो । अर्को धाराबाट उसैगरी बग्न थालेको ओली स्वादको पानी गाग्रीमा भर्न र खेतबारीमा लगाउन पुग्छ कि अनुहारमा छेप्न मात्रै त ? सबैभन्दा पहिले आआफ्नो स्वादको पानी धाराबाट खसाल्न बल गरेका देउवा, प्रचण्ड र बाबुराम–उपेन्द्रका कुरा गरौं । त्यसपछि तपाईं र मेरो तिर्खाको कुरा गरौंला ।
............
मतदाताले विपक्षीमा बस्न भने पनि ज्योतिषीले अहिल्यै सत्ताको स्वाद चाख्न पाइन्छ भनेर गरेको भविष्यवाणी । त्यसमाथि प्रचण्डको ‘ब्याक फोर्स’ । आँखै अघिल्तिर प्रधानमन्त्रीको आकर्षक कुर्सी । आफ्नै पार्टीबाट विश्वास गुमाएर र संसदबाट अविश्वास कमाएर आज हो कि भोलि भन्ने अवस्थामा पुगेका ओली ।

बुढानिलकण्ठमा बसेर बुढानिलकण्ठजस्तै लमतन्न सुतिरहेका देउवाले जताततैबाट आफैँलाई मात्र चिट्ठा परेको देखे । खुशीले गद्गद् भए । हेर्दाहेर्दै बालुवाटारको ढोकाका चुकुल हल्लिन थाले, हल्लेको चुकुलमा झुण्डेको ताला खोल्ने चावी हात पर्यो । बालुवाटार छिर्नुअघि कालो बोको काट्ने बानी ।

बोकोलाई पानी छम्किनै खोज्दा एकाबिहानैको तातो घामले निधार पोल्यो । जुरुक्क उठेर पत्रिका हेर्दा त उसैगरी मस्किरहेका ओलीको फोटो ! हत्तपत्त बोको पर्सन ठिक्क पारेको पानी आफ्नै अनुहारमा छ्यापे र सिरानीबाट मोबाइल झिकेर प्रचण्डको नम्बर थिचे ।
..........
ओलीलाई कुर्सीबाट हटाउन के मात्र गरिएन ? माधव नेपालसँग काँधमा काँध मिलाएर कहिले यहाँ छौं भन्दै माइतीघर पुगियो । कहिले देउवा त कहिले उपेन्द्रको घर । महन्थले साथ नदिए पनि नेपालको थियो ठूलो भर ।

ओलीलाई एकपटक देखिस् भन्दै काखी बजाएर खुच्चिङ गर्ने उबेलादेखिको धोको । हेर्नुथियो देउवाले बालुवाटारमा काटेको कालो बोको । ओली कुर्सीबाट खसेको दिन मुख मिठ्याउन खुमलटारमा ठिक्क पारेको लड्डुको पोको  । आफू बस्न नपाए पनि देउवा या अर्को कुनै मान्छे मात्रै बसे भने अघाउँथे सबै भोको ।

तर फेरि ओलीको ओलीटिक्सको अघिल्तिर पुष्पकमलको पोलिटिक्सको जोर चलेन । वर्ष दिनदेखि ओली बसेको कुर्सी हल्लाउन थालेका प्रचण्ड गालामा हात राखेर देउवासँग भाका मिसाए : सम्झने पानी छम्कने !
.........
देउवा र प्रचण्डलाई भन्दा बढी स्वाद फेर्नु थियो उपेन्द्र र बाबुरामलाई । ओलीले सधैं पेलेको पेल्यै । न मन्त्री बनाउँछन्, न मिठाई बाँड्छन् । हेर्दाहेर्दै पाँच वर्ष कटाउन लागे । यो पाँच वर्ष यसैगरी कटाए भने अर्कोपटक त संसदमा आउने बाटो नै बन्द होला भन्ने डर । देउवा र प्रचण्डले बल गरेको र माधव नेपालहरुसमेत खनिएको यहीबेला ओली पछार्न पाए हुन्थ्यो भन्ने कत्रो रहर !

तर महन्थलाई जिल्याएर माधवको बलमा देउवाको पछि लागेर सिंहदरबार छिर्ने मेलोमेसो बीचमै मेटियो । सिलाएर र आइरन लगाएर राखेको कुर्ता धोतीमा फोहोर मिसियो । ओली पछार्ने बाबुराम र उपेन्द्रको सपना पनि उस्तै भयो – सम्झने पानी छम्कने !
..........
ओली बालुवाटारबाट फर्केको सपना देखेका सबैले पानी छम्किए । सबैलाई छम्कन पुग्ने पानीसहित ओली अर्कै धाराबाट खस्न थाले । ओली स्वादको अर्को धाराको पानी छम्कने पालो अब कसको त ? 

ओलीलाई जसरी भए पनि हटाउन तम्सिएका नेपाल पक्षका सांसदहरुले अनुहारमा पानी छम्कनुअघि चिसै पानीमा नुहाइसके । ओलीले सबै माग पूरा गराउने भनेका छन् । अरु माग पूरा नभए पनि जेठ २ मा पुग्ने कुरो त अहिले नै पूरा भैसक्यो । किनकी वैशाख सकिएपछि जेठको १ हुँदै २ पनि आइसक्यो । जेठ २ लाई कसैले टार्न सकेन । राजीनामा चाहिँ टर्यो ।

अहिलेलाई चिसो पानीले नुहाएको मात्र हो । अलि दिनपछि फेरि पानी छम्कनैपर्छ । कि ओलीले शपथ लिंदाजस्तै ‘त्यो पर्दैन’ भन्नु सक्नुपर्यो । हैन भने त सम्झने पानी छम्कने !
..........
एउटा धारो बन्द गरेर अर्को धाराबाट उस्तै पानी बोकेर निस्केका ओली देखेर नागरिकलाई लागेको छ : अर्को स्वरुपमा नेपाल छिरेको कोरोना ओलीको फेरिएको रुप देखेर तर्सन्छ । बेसारपानी र अम्बाको पातको कुरा सम्झेर कुलेलम ठोक्छ ।  कोरोनाले थलिएका बिरामीले अस्पतालमा शय्या र अक्सिजन पाउँछन् । डर, त्रास, चित्कार, रुवाबासी टर्छ ! रोगसँगै भोकले छटपटिएकाहरुको मुहारमा चमक फर्कन्छ । उद्घाटन र शिलान्यास छोडेर ओली नागरिकको पीरमर्का बुझ्दै घरगाउँ पुग्छन् । रेल, पानीजहाजका मात्रै के कुरा, अलपत्र परेका शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताका आश्वासन र बाचा पूरा गर्छन् । अरुका पोलिटिक्सलाई पछार्ने ओलीटिक्सले नागरिकका समस्या दूर गर्छ । त्यसपछि त रामचन्द्रको पालामा देख्न नसकेको रामराज्य हुन्छ ।

यतिसम्म सुन्दा तपाईं आफैंलाई आफ्नो अनुहारमा पानी छम्कन मन लागेन ? अब ओली सम्झने पानी छम्कने !!

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया