माल्दिभ्समा अड्किएका अष्ट्रेलियन क्रिकेट खेलाडी स्वदेश फर्किए

 जेठ ३, २०७८ सोमबार ९:१९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माल्दिभ्समा अड्किएका ४० जना अष्ट्रेलियन क्रिकेट खेलाडी र कर्मचारी आफ्नो देश फर्किएका छन् । कोरोना महामारी बढ्दै गएपछि मे चार तारिखदेखि आईपीएल क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको थियो ।

आईपीएल स्थगित भए पनि अष्ट्रेलियाले भारतबाट आफ्ना नागरिकलाई प्रवेशमा रोक लगाएका कारण खेलाडी भारतमै रोकिएका थिए । केही दिन भारत बसेका स्टिभ स्मिथ, डेविड वार्नर, ग्लेन म्याक्सवेल लगायत खेलाडीलाई माल्दिभ्स लगेर एक होटलमा राखिएको थियो । तर अष्ट्रेलियाले पुन: आफ्ना नागरिकलाई स्वदेश फर्कन दिने निर्णय गरेसँगै आज बिहान भारतीय क्रिकेट कन्टोल बोर्ड बीसीसीआईले गरेको चाटर्ड जहाजमा ४० जना खेलाडी र कर्मचारी अष्ट्रेलिया पुगेको क्रिकेट सम्बन्धी वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

उनीहरु अब १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ । भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै अष्ट्रेलियाले आफ्नै देशका नागरिकलाई पनि प्रवेशमा रोक लगाउँदै पाँच वर्ष जेल र ६६ हजार अष्ट्रेलियन डलर जरिबाना तिराउनेसम्मको नियम बनाएको थियो ।

यो नियमको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री स्कट मोरिसन भारतमा रहेका नागरिक अष्ट्रेलिया फर्कन पाउने निर्णय गर्न बाध्य हुनुभएको छ । अस्ति शनिबारदेखि भारतमा रहेका अष्ट्रेलियन नागरिक घर फर्किइरहेका छन् । भारतमा ९ हजार जना अष्ट्रेलियाका नागरिक रहेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया