आधार शिविरबाटै सगरमाथा चुचुरोको अवलोकन, झण्डै डेढ सय आरोही शिखरमा

 जेठ ९, २०७८ आइतबार ११:५६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाटै सगरमाथा शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको छ । श्रेष्ठले बाइनाकुलरको माध्यमबाट आधार शिविरमा रहेर शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको हो ।

आज एकैदिन धेरै आरोहीहरु गएकाले भीड हुन सक्ने आशङ्का थियो । तर आरोहीहरु पालैपालो गएकाले भीड नभएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले यहाँबाट हेर्दा मानिस हिँडेको प्रस्ट देखिन्छ, खासै भीडभाड छैन।’

बाइनाकुलर भने पर्यटन विभागले व्यवस्था गरेको हैन । निजी क्षेत्रका आरोहीले लगेको बाइनाकुलरबाट शिखरको अवलोकन गरेको श्रेष्ठले बताउनुभयो । प्रस्टसँग देखिने भएकोले आउँदा दिनमा पर्यटन विभागले यस्ता प्रविधिको प्रयोग गर्न सक्नेबारेमा विभागलाई जानकारी गराउने उहाँले बताउनुभयो । यसैबीच आज झण्डै डेढ सय आरोही सगरमाथाको शिखरमा पुगेका छन् ।

बिहान सबेरैबाट सुरु भएको आरोहणमा अहिलेसम्म झण्डै डेढ सय आरोही शिखरमा पुगेका पर्यटन विभागको सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘आज आरोहणका लागि दुई सयभन्दा धेरै आरोही जानुभएको छ । त्यसमध्ये डेढ सय जति शिखरमा पुगेको जानकारी प्राप्त भएको छ । कोही अझै जाँदै हुनुहुन्छ । कतिपयको जानकारी सङ्कलन गर्न बाँकी छ’ श्रेष्ठले भन्नुभयो ।

आज शिखरमा पुग्नका लागि कम्तीमा साढे दुई सय आरोहीहरु गएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको बसन्त ऋतुको आरोहण सुरु भएको हो ।

वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको हो । यो वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् ।

आरोहण अनुमति लिएका भन्दा उनीहरुका सहयोगी धेरै हुने भएकाले यो वर्ष सगरमाथा आरोहणका लागि साढे आठ सयभन्दा धेरैको तयारी छ । यसैबीच तीन जना भारतीय नागरिकसहित ७ जना आरोही ल्होत्से हिमालको शिखरमा पुगेका छन् ।

सात जनाले आठ हजार पाँच सय १६ मिटर अग्लो हिमाल आरोहण गरेका सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङ्गमा शेर्पाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया