‘श्रमिकका समस्या सुन्न र सही सूचना दिन आप्रवासी स्रोत केन्द्र’

 जेठ ११, २०७८ मंगलबार १६:३६:२० | रोनी प्रधान

महामारीको अवस्थामा निषेधाज्ञा जारी छन् । कोरोना सङ्क्रमणबाट जोगिनका लागि घरैभित्र बस्नुपर्ने अवस्था छ । त्यसैले यो बलामा नेपाली श्रमिक र तीनका परिवारहरुमा कुनै सूचना या जानकारी चाहिएमा कहाँ जाने, कसरी लिने भन्ने हुनसक्छ ।

यही अन्यौलतालाई सम्बोधन गर्नका लागि सामी परियोजना अन्तर्गतका आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरूले सूचना दिइरहेका छन् । केन्द्रका नम्बरहरू परामर्शकर्ताको मोबाइलमा डाइभर्ट गरिएको छ ।

यो अप्ठेरो परिस्थितिमा पनि उहाँहरूले वैदेशिक रोजगारी सम्बन्धी सूचनाहरू प्रवाह गरिरहनुभएको छ । तपाईँहरूका पनि कुनै जिज्ञासा, प्रश्न या समस्या छन् भने राख्न सक्नुहुन्छ । उहाँहरूले टेलिफोनमार्फत तपाईँका समस्या, प्रश्न र जिज्ञासा सुन्नुहुन्छ र सम्बन्धित निकायसँग समन्वयको काम गर्नुहुन्छ । 

श्रम  स्वीकृति, पुनः श्रम स्वीकृति, वैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गर्ने सेवाहरू जस्तै आर्थिक सहायता, छात्रवृत्ति, शव ढुवानी लगायत विभिन्न विषयमा आफ्ना  जिज्ञासा र समस्याहरू राख्न सक्नुहुन्छ। 

अहिले वैदेशिक रोजगारीकै क्रममा तपाईँले विभिन्न किसिमका अप्ठेरा परिस्थितिहरूको सामना गर्न परेको हुन सक्छ ।

यसको समाधान के होला, कहाँ सम्पर्क गर्ने होलाजस्ता तपाईँका जिज्ञासाहरू फोन गरेर आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ताहरूसित सोध्न सक्नुहुन्छ । सामी परियोजना अन्तर्गत चाहिँ अहिले ३८ वटा आप्रवासी स्रोत केन्द्रहरूका साथै उप स्रोत केन्द्रहरू सञ्चालनमा रहेका छ ।

आप्रवासी स्रोत केन्द्रको सम्पर्क नम्बरहरू चाहिँ सामी परियाेजनाकाे  फसबुक पेज  सेफर माइग्रेसन प्रोजेक्ट फेज ३ मा गएर हेर्न सकिन्छ । अरू जिल्लाहरू जहाँ सामी परियोजना पनि कार्यान्वयन भएको छैन र आप्रवासी स्रोत केन्द्रहरू पनि छैनन् ती जिल्लाका तपाईँले वैदेशिक रोजगार बोर्डमा रहेको श्रम कल सेन्टरमा फोन गरेर पनि आफ्नो समस्या राख्न सक्नुहुन्छ । 

कल सेन्टरमा निःशुल्क नेपाल टेलिकमका नम्बरहरूबाट ११४१ नम्बरमा अथवा १६६०००१५०००५ मा र विदेशबाट सः शुल्क ९७७ १५९७००८ नम्बरमा र भाइवरमार्फत ९७७९८०१८०००१३ नम्बरमा फोन गर्न सकिन्छ । 

समस्या समाधानका लागि सहजीकरण

आप्रवासी स्रोत केन्द्रमा समस्याहरू विभिन्न आउन सक्छन् । कोही समस्या वैदेशिक रोजगार बोर्डसँग सम्बन्धित हुन्छन् त कोही विभाग र दूतावाससँग सम्बन्धित पनि हुन्छन् । तपाईँले राख्नुभएका समस्याको आधारमा चाहिँ कुन निकाय हो त्यही निकायमा सहजीकरणको काम हुन्छ ।

सम्बन्धित निकायसँग समन्वय र सहजीकरणको लागि सामी परियोजनाका दुई वटा राष्ट्रिय साझेदार संस्थाहरू रहेका छन् । प्रवासी नेपाली समन्वय समिति र पिपल फोरम । उहाँहरूसँग पनि समन्वय गर्दै आप्रवासी स्रोत केन्द्रहरूले समस्या समाधानका विभिन्न नेपाल सरकारका निकायहरूसँग समन्वय गर्छ ।

यसका साथै  आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ताहरुले सम्बन्धित आधिकारिक निकायहरूले निकालेको सूचनाहरू पनि दिनुहुन्छ । जस्तो वैदेशिक रोजगार बोर्ड, विभाग, दूतावास, विभिन्न गन्तव्य देशका आधिकारिक निकायले जारी गरेका सूचनाहरू आदि ।

कसले सम्पर्क गर्ने 

आप्रवासी स्रोत केन्द्रमा सधैँ श्रमिकले फोन गर्न सक्ने अवस्था नहुन पनि सक्छ । तर श्रमिकले आफ्नो समस्या पक्कै पनि परिवारका सदस्यसँग त राख्नुभएको हुन्छ ।

त्यसैले यदि परिवारका सदस्यसँग परदेशीले आफ्नो समस्या राख्नुभएको छ भने पनि आफ्नो जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रहरूमा फोन गरेर परिवारका सदस्यले पनि मेरो मानिसलाई यस्तो भएको छ भनेर जानकारी दिन सक्नुहुन्छ । 

यस्तै श्रमिक गन्तव्य देशमा समस्यामा पर्नुभएको छ तर फोन गर्न सक्ने अवस्था छैन भने पनि उहाँहरूका साथीभाइले पनि केन्द्रमा फोन गरेर आफ्नो समस्या राखिदिन सक्नुहुन्छ । तर तपाईँ आफैँ फोन गर्न सक्नुहुन्छ र आफ्नो समस्या बताउनुहुन्छ भने त अझ राम्रो हुन्छ ।

(प्रधानसित कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानी ।)

अन्तिम अपडेट: चैत ८, २०८०

रोनी प्रधान

रोनी प्रधान सुरक्षित आप्रवासन परियोजना सामीमा आप्रवासी स्रोत केन्द्र तथा मनोसामाजिक परामर्श कार्यक्रम संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया