खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – अन्तर्राष्ट्रिय फुटबल खेलमा सुधारिएको खेल देखाउने प्रयास नेपालले शनिवार बलियो प्रतिद्वन्द्वी इराकसँग खेलेर प्रमाणित गर्याे । नतिजा सुम्पिए पनि नेपाली टोलीको प्रदर्शनलाई सबैले तारिफ गरेका छन् । नेपालका प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले टोलीले भोगेको पराजयको जिम्मा लिएका छन् । विश्व कप र एसियन कप छनोट खेल खेल्न कुवेत गएको नेपालले त्यसअघिको मैत्रीपूर्ण खेलमा प्राप्त नतिजाले हौसला मिलेको छ ।
फिफा वरीयतामा निकै माथि रहेको प्रतिद्वन्द्वी इराकसँग नेपालले मैत्रीपूर्ण खेल्यो । नतिजा सुखद् हुन सकेन । तर टोलीले अन्तर्राष्ट्रिय भ्रमणमा भोग्ने गरेको गोलको खडेरीको पारो भने घटेको छ । ६–२ ले नेपाल पराजित भए पनि पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएका युवा खेलाडी मनिष डाँगीले नेपालका लागि पहिलो गोल गरे । यससँगै डाँगी डेब्यु खेलमा गोल गर्ने तेस्रो खेलाडीसमेत भएका छन् । यसअघि हरि खड्का र वाइबी घलेले डेब्यु खेलमा गोल गरेका थिए । वाइबी घलेले एसियाली खेलकुदमा कुवेतविरुद्ध सन् १९८२ मा र हरि खड्काले १९९५ को सार्क गोल्ड कपमा पाकिस्तानविरुद्ध गोल गरेका थिए । डेब्यु खेलमा देशका लागि गोल गरेका मनिष डाँगीले गोल गर्दा खुसी भए पनि नतिजा गुमाउनु पर्दा दुःखी भएको प्रतिक्रिया दिए ।
युवा खेलाडीसहित मैदान उत्रिएको नेपालले सुरुवातबाट नै घरेलु टोलीको अट्याकको सामना गर्नुपरेको थियो । आधा मैदानमा जस्तो खेल भएको प्रतिस्पर्धामा नेपाली टोलीकाे रक्षा गर्नमा समय व्यतित भएको थियो । मुख्य प्रशिक्षक अलमुताइरीको पहिलो परीक्षाका रूपमा हेरिएकाे खेलमा टोलीले प्राप्त गरेको नजिताको जिम्मा उनै प्रशिक्षकले लिएको घोषणा गरेका छन् ।
केही अवसर पाउँदा अगाडि बढाउने क्रममा नेपालले गोल अन्तर छोट्याएको थियो । सुरुवातमा नै पछि परेको नेपालले लगत्तै गोल फर्काएर पाँच मिनेटको अन्तरालमा अग्रता लिन सफल भएको थियो । तर सम्हालिन नसक्दा गोल खाँदै नतिजा सुम्पिन बाध्य बन्यो । नेपाली टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ एसियाली पावर हाउसको रूपमा गनिने इराकका निरन्तरका प्रयासलाई विफल पार्नमै व्यस्त भए ।
फुटबलका जानकार तथा सहिद स्मारक ए डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले इराकजस्तो देशलाई पहिलो हाफको केही मिनेट अगाडिसम्म अग्रता दिएर दबाबमा राख्नु नेपाली टोलीको उपलब्धि भएको बताए ।
शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाल उतैबाट कुवेत विश्व कप र एसियन कप छनोट खेल्न प्रस्थान गरेको छ । कुवेत बसाइमा विश्व कप छनोटको बाँकी खेल अन्तर्गत नेपालले पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । दोस्रो खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
समूह 'बी' अन्तर्गत पाँच खेल खेलेको नेपालको तालिकामा तीन अङ्क रहेको छ । चाइनिज ताइपेइलाई दुई–शून्यले पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अङ्क जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ । १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अङ्क जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइनिज ताइपेई तालिकाको अन्तिम स्थानमा अङ्कविहीन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।