निषेधाज्ञाका कारण बारीमै सड्दै तरकारी, किसान चिन्तित

 जेठ १७, २०७८ सोमबार १०:३४:१४ | रासस
unn.prixa.net

म्याग्दी - स्थानीय प्रशासनले लगाएकाे निषेधाज्ञाका कारण म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् ।

बजारसम्म तरकारी पुर्याउन नसक्दा र पुर्याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै सड्न थालेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्माले बताउनुभयो । सात रोपनी जग्गामा लगाएको तरकारी बिक्री नहुँदा पशुलाई खुवाउनु पर्ने वा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको उहाँको भनाइ छ ।

शर्माले भन्नुभयो, 'बजार सबै बन्द छन्, बजारमा भाडामा बस्नेहरु पनि सबै गाउँ उक्लिएका छन्, को आएर हाम्रो तरकारी किनिदिने हो र ? किन्ने मान्छे नै आउँदैनन्', उहाँले भन्नुभयो । गएकाे वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पुर्याएको उहाँको भनाइ छ । यो वर्ष कोरोनाले धेरै मानिसको मृत्यु भएका कारण पनि मानिस डराएकाले कोही पनि बारीमा किन्न नआउने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै अवस्था छ खबराकै अर्का अगुवा कृषक चन्द्रबहादुर कार्कीको पनि । कार्कीले करिब १० रोपनी जग्गामा लगाएको तरकारी खेती अहिले पशुको आहारा बनेको छ । 'दश रोपनीमा लगाएको मुला, काँक्रो, धनियाँ, सिमी, बन्दा, करेलालगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएको छ', कार्कीले भन्नुभयो  'गएकाे वर्ष लकडाउन भए पनि चार लाख रुपैयाँ आम्दानी भएको थियो, तर यो वर्ष भने एक दुई लाख हुन्छ कि हुँदैन चिन्ताले सताउन थालेको छ ।'

निषेधाज्ञा नहुँदै टिप्ने नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको मङ्गला गाउँपालिकाका अर्का कृषक टेकनाथ सापकोटाले भन्नुभयो ।  उहाँका अनुसार सिमी, बन्दा, धनियाँ, काँक्रो छिप्पिएर काम नलाग्ने भइसकेका छन् । आधाजति तरकारी पशुलाई खुवाइसकिएको र आधा बारीमै कुहेर खेरजाने अवस्थामा पुगेका छन् ।

तरकारीको बिक्रीले नै घरखर्च टार्ने यहाँका किसानहरु आम्दानी नभएपछि मर्कामा परेको पालिकाका जनप्रतिनिधिको भनाइ छ । म्याग्दीमा २०० भन्दा बढी कृषकले व्यावसायिक तरकारी खेती गरेका छन् । ती सबै कृषकले उत्पादन गरेको तरकारीले अहिले बजार नपाउँदा खेतबारीमै खेर जान थालेको मङ्गलाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । यहाँका कृषकहरुले तरकारी बिक्री गरेर वार्षिक १० करोड रुपैयाँदेखि १६ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया