संवैधानिक इजलास पुनगर्ठन गर्न प्रधानन्यायाधीश सहमत

 जेठ १८, २०७८ मंगलबार १२:२९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सर्वोच्च बार एसाेसिएशनका पदाधिकारीसँग भएको छलफलमा उहाँले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमति जनाउनुभएको हो । यो सहमतिसँगै प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास पुनर्गठन हुने भएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदकतर्फका वकिलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च बार एसोसिएशनका पदाधिकारीहरुबीच छलफल भएको थियो ।

छलफलमा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत हुनुभएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो ।

भेटपछि पत्रकारसँग कुरा गर्दै उहाँले आजको बेञ्च स्थगित हुन सक्ने जानकारी दिनुभयो। शाक्यका अनुसार  वरिष्ठताक्रम अनुसार गठन हुने इजलासमा कुनै कारण माथिल्लो वरियताका न्यायाधीशले बस्न अस्वीकार गरेमा अर्को बरिष्ठताक्रम अनुसार गठन गर्न प्रधानन्यायाधीश राणा सहमत हुनुभएको छ। 

यो सहमति अनुसार अबको संवैधानिक इजलास गठन भएमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वरप्रसाद खतिवडा रहनेछन्।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया