जहाज चढेर जान जस्तो सजिलो छैन विदेशमा काम गर्न

 जेठ १९, २०७८ बुधबार १५:३०:१२
unn.prixa.net

पूर्णचन्द्र पौडेल, रौतहट ।

जान न म पनि कमाउने सपना बोकेर नै वैदेशिक रोजगारीमा गएँ । तर सपनाहरु पूरा गर्न महामारीले दिएन । 

दुई वर्ष अघि विदेश जानको लागि प्रक्रिया गर्न भनेर काठमाण्डौ गएँ । त्यो बेलामा रिभर ओभरसिजले यूएईमा हुने काम र कमाइको कुरा सुन्दा लोभ लाग्दो थियो । मलाई पनि चाहिएको त्यस्तै त थियो त्यसैले धेरै नसोची हुन्छ भनिदिएँ । 

सबै प्रक्रिया पूरा गरेर सन् २०१९ को अगस्ट तीन तारिखमा नेपालबाट यूएई उडियो । जहाजबाट यूएई पुग्न त सजिलो भयो । तर त्यहाँ गएपछि भने सोचेजस्तो सहज नहुँदो रहेछ ।

विमानस्थलमा कम्पनीको मानिस लिन आएको थियो । कम्पनीको लेबर क्याम्पसम्म लग्यो । म्यानपावरले त यूएई पुगेको दुई चार दिनमा कार्ड बन्छ अनि काम सुरु हुन्छ भनेको थियो । तर त्यहाँ पुगेपछि दुई महिना कोठामै थुनिन पर्यो ।

दुई महिनापछि बल्ल काम सुरु भयो । यूएईको अबुधाबी इन्टरनेशनल विमानस्थलमा लेगेजहरु स्क्यान गर्ने काम थियो । 

काम सुरु हुँदा खुसी भएका थियौँ । तर कोरोना महामारीले गर्नु गर्यो । काम सुरु गरेको केही महिनामै एयरपोर्ट नै बन्द भयो । एयरपोर्ट बन्द भएपछि हाम्रो के काम । हामी कोठामा थुनियौँ । साढे तीन महिनाजस्तो कोठामा बसेपछि फेरि काम सुरु भयो । तर अर्को ठाउँमा  । दुई महिनाजस्तो काम गरेपछि कम्पनीले अब तिमीहरूको यहाँ काम छैन । घर जाओ भन्यो । 

हाम्रै कमाइको पैसाले टिकट काटेर पठाइदियो । यसरी मेरो विदेशमा कमाउने र जमाउने सपना त्यतै फालेर स्वदेश फर्किएँ । 

मलाई यहाँ आएपछि पनि करार अनुसार नपाएको तलब सुविधा पाइन्छ र त्यसका लागि वैदेशिक रोजगार विभागमा निवेदन निवेदन दिन पर्छ भन्ने थाहा थिएन । यही हाम्रो जिल्लामा आप्रवासी स्रोत केन्द्र रहेछ । आप्रवासी स्रोत केन्द्रले नै मलाई यसबारेमा जानकारी दियो । 

मैले जिल्ला प्रशासन कार्यालयमा गएर सिडिओ सरलाई पनि आफ्नो समस्याहरू भनेँ । उहाँले मलाई काठमाण्डौमा गएर नै निवेदन दिनु भन्नुभयो । तर यो महामारीको कारण म काठमाण्डौ जान सकिनँ ।

अहिले त झन् काठमाण्डौमा कार्यालयहरू बन्द छन् । यो समय कहिलेसम्म रहन्छ भन्ने पनि थाहा छैन । 

यताबाट निवेदन अहिले नै दिन मिल्ने व्यवस्था भएको भए त हुन्थ्यो नि । त्यो व्यवस्था नहुँदा म कहिले यो अवस्था सामान्य हुन्छ, गाडी खुल्छ र काठमाण्डौ गएर निवेदन दिउँला भनेर बसेको छु । तर चिन्ता के छ भने कुर्दा कुर्दै मैले निवेदन दिने समय नै बितेर जाने पो हो कि भन्ने छ । 

यदि समयमा निवेदन दिन पाइएन भने मेरो साढे पाँच महिना खेर जान्छ । मैले साढे पाँच महिनाको तलब र सेवा सुविधा पाउन बाँकी छ । 

आशा गर्छु कि विभागको कार्यालय छिट्टै खुल्ने छ र म काठमाण्डौ गएर निवेदन दिन पाउनेछु ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया