‘पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण करिडाेर लगायतका आयाेजना बजेटकाे प्राथमिकतामा छ’

 जेठ १९, २०७८ बुधबार १८:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना बनाउने काम सुरु गरेको बताउनुभएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्वाङले आउँदाे आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै बजेटमा परेका योजनाहरू समयमै सम्पन्न गर्नका लागि आवश्यक प्रक्रिया अहिलेदेखि नै सुरु भइसकेको बताउनुभयो । 

बजेटले राष्ट्रिय महत्त्वका र राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई समेटेको भन्दै उहाँले तिनको काम समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनका लागि कार्यतालिका बनाएर अर्थ मन्त्रालयमा पेस गरिसकेको पनि जानकारी दिनुभयो । कतिपय आयोजनामा बजेट कार्यान्वयन गर्न नीतिगत अस्पष्टता हुँदा काममा ढिलाइ हुने गरेकाले अहिलेदेखि नै ती नीतिगत अस्पष्टतालाई समाधान गर्नका लागि मन्त्रालयस्तरमा कार्ययोजना बनाउन सुरु गरिसकेको पनि उहाँले बताउनुभयो । 

त्यस्तै ठूला आयोजनाको खरिद प्रक्रिया ढिलो हुँदा निर्माणका काममा ढिलाइ हुने गरेकाले आउँदाे आर्थिक वर्षदेखि सुरु हुने विकास निर्माणका कामका लागि भने चालु आर्थिक वर्षको बाँकी समयबाट नै तयारी सुरु गर्न निर्देशन दिइएको मन्त्री नेम्वाङले बताउनुभयो ।

बजेट कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकायको क्षमतामा भर पर्ने उल्लेख गर्दै उहाँले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत नै आवश्यक कार्यालय र जनशक्तिको अभाव भएकाले त्यसको व्यवस्थापन पनि आउँदाे आवको बजेटबाट व्यवस्था गरिएको बताउनुभयो । यसले बजेट कार्यान्वयनका लागि प्रभावकारी काम गर्न सहयोग पुर्‍याउने उहाँको भनाइ छ । 

आउँदाे आर्थिक वर्षको बजेटले पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण करिडोर, रेल, मेट्रो रेल, सुरुङ मार्ग, फ्लाइ ओभर लगायतका महत्त्वपूर्ण आयोजनालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । पूर्व–पश्चिम राजमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्गमा निमार्ण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश राजधानी जोड्ने राजमार्गका लागि पनि बजेट विनियोजन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।  

सङ्घीय राजधानीको आवागमनलाई व्यवस्थापन गर्नका लागि पनि बजेट विनियोजन गरिएको मन्त्री नेम्वाङले बताउनुभयो । चक्रपथ निर्माण, नागढुङ्गा सुरुङ मार्ग निर्माणका लागि पनि बजेट विनियोजन गरिएको उहाँले उल्लेख गर्नुभयो । तराईका १८ जिल्ला जोडिएको र छिमेकी देश भारतसम्म जोडिने औद्योगिक करिडोरका लागि पनि सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको उहाँले बताउनुभयाे । नागढुङ्गाबाहेकका अन्य तीन वटा सुरुङ मार्ग निर्माणका लागि पनि बजेट विनियोजन गरिएको मन्त्री नेम्वाङले जानकारी दिनुभयो । चीनको बोर्डरसम्म जोड्ने विभिन्न आयोजनाका लागि पनि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

मन्त्री नेम्वाङले ७२ वटा वैकल्पिक राजमार्ग बनाउनका निम्ति बजेटको व्यवस्था गरिएको पनि उल्लेख गर्नुभयो । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक बजेट तथा कर्मचारीको व्यवस्थापन भइसकेको भन्दै उहाँले लकडाउनको अन्त्य भएसँगै रेल सञ्चालनमा आउने बताउनुभयो । आउँदाे आवमा एक सय विद्युतीय बस थप गरिने पनि उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया